
लोकगायक विष्णु खत्रीले लोकगीतसँग सम्बन्धित नयाँ संस्था खोल्ने तयारी गरेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले केन्द्रीय महाधिवेशनको तयारी गरिरहँदा गायक खत्रीले नयाँ संस्था खोल्ने तयारी गरिरहेका हुन् ।
लोकगीतसँग सम्बन्धित कलाकारहरूलाई समेट्ने र उनीहरूको हक हितमा काम गर्ने गरी नयाँ संस्था खोल्ने तयारी भएको गायक खत्रीले जानकारी दिए ।
वरिष्ठ लोकगायक बमबहादुर कार्कीलाई अध्यक्ष बनाउने गरी तयारी भइरहेको उनले बताए ।
‘अग्रजको सम्मानसहित नयाँ संस्था खोल्ने तयारी गरेका हौँ’ उनले भने, ‘अहिले संस्था दर्ताको लागि विधान लेखनको काम गरिरहेका छौँ ।’
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा वास्तविक कलाकारहरुभन्दा गैह्र कलाकार हावी भएको गायक खत्रीको आरोप छ । प्रतिष्ठानमा केही सीमित व्यक्तिको स्वार्थ चल्ने गरेको, लोक गीत सम्बन्धी सबै कलाकारहरूलाई प्रतिष्ठानले समेटन नसकेको हुनाले नयाँ संस्थाको आवश्यकता महसुस भएको खत्रीले बताए ।
‘दोहोरीगीत प्रतिष्ठान गण्डकी क्षेत्रले चलाएको जस्तो भयो । अलि वृहत्, सबै जिल्ला समेटिने गरी हामीले नयाँ संस्था खोल्ने तयारी गरेका हौं’ उनले थपे ।
गायक खत्री दोहोरीगीत प्रतिष्ठानको अध्यक्षका लागि यसअघि लगातार तीन पटक उम्मेदवारी दिएका दिएका थिए । यसपटक भने उम्मेदवार नबन्ने सोच बनाउँदै नयाँ संस्था खोल्ने तयारीमा उनी लागेका हुन् ।
केही दिनमै घोषणा गर्ने आफूहरूको तयारी रहेको उनले बताए ।