
गोदावरी नगरपालिका कैलालीले सम्मानजनक मृत्यु यात्राका लागि महाप्रस्थान यान सञ्चालनमा ल्याइएको छ । पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका आफन्तजनलाई परेको समस्यालाई ध्यान दिंदै महाप्रस्थापन यान सञ्चालनमा ल्याएको चौकीडाँडा महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेमराज भण्डारीले जानकारी गराए ।
सामूदायिक वन उपभोक्ता समूहले आइतबार गोदावरी नगरपालिका ३ चौकीडाँडामा कार्यक्रमबीच महाप्रस्थान यान निःशुल्क रुपमा सञ्चालनका लागि मानांंक फाउण्डेशनलाई जिम्मा दिए । प्रदेश सभा सांसद प्रकाश बमले रिबन काटेर महाप्रस्थान यानको शुभारम्भ गरे । चौकीडाँडा महिला सामुदायिक वन उपभोक्ता समूहले २७ लाख ५ हजारको लागतमा महाप्रस्थान यान खरिद गरेको हो । सो यान पीडितलाई निःशुल्क उपलब्ध गराइने छ ।
अध्यक्ष भण्डारीले महाप्रस्थान यान कैलालीको गोदावरी र कंंचनपुरको कृष्णपुर नगरपालिकाका वासीमा समर्पित हुने बताए । ‘परिवारको सदस्य गुमाउँदा परिवार शोकमा डुबेको हुन्छ । शव यात्राका लागि गाडी दिनै नमान्ने समस्या देखिएपछि महाप्रस्थान यानको नाम दिएर निःशुल्क वाहन सञ्चालनमा ल्याइएको उनले बताए ।