
उत्तर कोरियाले सोमवार बिहानै कोरियाली प्रायद्वीपको पूर्वी भागमा रहेको जलक्षेत्रमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।
यससँगै उत्तरका सर्वोच्च नेता किम जोङ उनकी बहिनी यो जोङले दक्षिण कोरियासँग अमेरिकाले संयुक्त सैन्य अभ्यास बन्द नगरेमा थप क्षेप्यास्त्र प्रक्षेपण गर्ने चेतावनी दिएकी छन् ।
यो जोङले प्रशान्त महासागरलाई आफूहरूले निशानाको दायरा बनाउने काम अमेरिकी सेनाको गतिविधिमा निर्भर रहने बताएको त्यहाँको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।
सोमवार गरिएको क्षेप्यास्त्र परीक्षण विगत तीन दिनमा दोस्रो हो । शनिवार प्योङयाङले अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।
अमेरिकाले दक्षिण कोरिया र जापानसँग बेग्लाबेग्लै सैन्य अभ्यास गरी उत्तरको उक्त प्रक्षेपणको जवाफ फर्काएको थियो । यसै साता अमेरिका र दक्षिण कोरियाले अमेरिकामा आणविक अभ्यास पनि गर्दैछन् । यी दुई साझेदारले अर्को महिना कोरियाली प्रायद्वीपमा सैन्य अभ्यास गर्ने अपेक्षा छ ।