११ असार २०८३, बिहीबार

पत्नीलाई घुमाउन अर्कै गाउँ लगेर हत्या, शवबाहन खोज्दा खुल्यो पोल !

फागुन ८, २०७९
पत्नीलाई घुमाउन अर्कै गाउँ लगेर हत्या, शवबाहन खोज्दा खुल्यो पोल !

विराटनगर महानगरपालिका–१९ घर भएकी २८ वर्षीया प्रियंका सुनुवार साहको हत्या उनकै पति २९ वर्षीय रमेश साहले गरेको खुलेको छ ।

पारिवारिक सम्बन्धमा आएका खटपटको कारणले हत्या भएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले बताए । थप २ जना सहयोगीसँग मिलेर हत्या गरेको मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रहरीले हत्या आरोपमा पति साहसहित मोरङको कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रमानन्द राम र  ३५ वर्षीय उमेश सरदारलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ ।  

हत्या गरी बोरामा पोको पारेर फालेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा प्रियंकाको शव सोमवार दिउँसो १२ बजेतिर फेला परेको थियो ।

घरको आँगन जोडिएको ग्वालीमा शव भेटिएपछि नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ ।  घाँटी र कानमा चोटपटक रहेका कारण हत्यापछि प्रियंकाको शव बोरामा पोको पारेर फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार नरसिंहको घरभित्र हत्या गरेर शव ग्वालीमा फालेको आशंका छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएर घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।

प्रियंकाकोे माइतीघर भारत हो । उनका ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन् । घरमा पतिपत्नीको सम्बन्धनमा खटपट हुने गरेको प्रहरीले जनाएको छ । 

आइतवार घुम्ने बहानामा रमेश पत्नी प्रियंकालाई लिएर बुढीगंगा गाउँपालिका–२ अमाहीस्थित नर्सिङ चौधरीको घरमा मोटरसाइकलमा पुगेका थिए । उनका साथमा थिए रमानन्द राम र उमेश सरदार । रमानन्दका दाइका साथी हुन् घरधनी नर्सिङ । रमानन्दको माध्यमबाट रमेश पत्नीलाई लिएर अमाही पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

अमाहीमा ६० वर्षीय चौधरी, उनकी पत्नी र २४ वर्षीय छोरा मात्र बसोबास गर्दै आएका थिए । आइतवार दिउँसो करीब २ बजेतिर घरमा नर्सिङ मात्रै थिए । त्यही बेलामा रमेश पत्नी र अन्य २ जनालाई ल्याएर त्यहाँ पुगेका थिए । ‘घरमा पुगेपछि रमानन्दले नर्सिङलाई हावा खाना भन्दै गाउँतिर पठाइदिए । घरभित्रको कोठामा रमेश र प्रियंका बसे । त्यही बेला दुवैबीच विवाद सिर्जना भयो । घाँटीमा तन्ना बेरेर हत्या गरेको आरोपीले स्वीकार गरेका छन्,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘हत्या गरेपछि शव प्लास्टिकको ठूलो बोरामा हालेर ग्वालीमा लुकाएका रहेछन् ।’ 

आइतवार राति ११ बजे कोशी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम शव बोक्ने गाडी खोजिरहेका थिए । उनले अस्पताल परिसरमा भएका गाडीलाई लाश बोक्नुपर्ने भन्दै भाडा सोधिरहेका थिए । गाडी चालकहरूले पनि कोशी अस्पतालभित्रै निधन भएको व्यक्ति बोक्ने होला भन्ने ठाने तर लाश अस्पतालभन्दा बाहिर बुढीगंगा गाउँपालिका–२ को एउटा घरमा रहेको भनेपछि सूचना प्रहरीसम्म पुग्यो । प्रहरीले रामलाई राति नै नियन्त्रणमा लियो । उनले शुरूमा ढाँटे । मानसिक रूपमा कमजोर जस्ता देखिएका रामले जब बुढीगंगा–२ मा एउटा लाश व्यवस्थापन गर्नुपर्ने भने, त्यसपछि प्रहरीले महिलाको हत्या भएको सूचना पायो ।

विराटनगर–१९ की प्रियंका सुनुवारको बुढीगंगा–२ स्थित नरसिंह चौधरीको घरमा दिउँसो हत्या गरिएको थियो । त्यही शवलाई व्यवस्था गर्ने जिम्मा कटहरीका ६२ वर्षीय रामलाई दिइएकोले उनी गाडी खोजिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्