
भूमिहीनहरुले काठमाडौं महानगरपालिकाले आफूहरुलाई थप पीडा दिएको गुनासो गरेका छन् । विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृङ्खला’ कार्यक्रममा पीडित जानुका पोखरेललगायतले आफूहरुको बस्तीमा डोजर आतंक मच्चाएर काठमाडौं महानगरपालिकाले थप पीडा दिएको बताएका हुन ।
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दैआएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका आफूहरुलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले उठिबास लगाउन खोजेको भन्दै आक्रोश व्यक्त गरिन् । आफूहरुमाथि अन्याय नगर्न पनि काठमाडौं महानगरपालिका र संघीय सरकारलाई उनले आग्रह गरिन् । गरिवको पक्षमा सबै तहका सरकारले काम गर्नुपर्नेमा दुःख दिएको उनको दुखेसो छ । पोखरेलले भनिन्, ‘गरिवीको भोगाई छ । भोकको पीडा छुट्टैछ । महामारी, सरकारको दिएको यातना, यी सबैको पीडा हामीले भोग्नुपरेको छ । हामीमाथि नै काठमाठौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि डोजर चलाएर आतंकित पारेका छन् । उनी आएपछि त झन हामीले पीडा भोग्नुपरेको छ ।’
यता, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त नवराज प्याकुरेलले भूमिहीनहरुको समस्या समाधानका लागि आफूहरु सम्बन्धित पक्षसँग सहकार्य गरेर अघि बढन लागिपरेको दावी गरे । उनले त्यसका लागि ठोस योजना ल्याउन स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण समेत गराए । विकास आयुक्त प्याकुरेलले काठमाडौं उपत्यकाभित्र सामाजिक न्याय स्थापित हुनेगरी पीडितहरुको माग सम्बोधन गराउने काममा आफूहरुले काम गरिरहेको बताए ।