
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताएका छन् । सोमवार आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा कार्यकारी निर्देशक नेपालले सो कुरा बताए ।
लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै उनले त्यसलाई व्यवस्थित गर्ने कार्यविधि ल्याउने बताए । पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको उनले बताए ।
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरेमात्रै धेरै समस्या समाधान हुने उनको भनाइ छ । उनले वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको बताए । उनले लघुवित्तमा पछिल्लो समय देखिएको समस्या सबै मिलेर समाधान गर्न आवश्यक रहेको धारणा राखे ।
स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्दै मिटरब्याजीका कारण पनि स्थानीय स्तरमा समस्या बढ्दैगएको उनले बताए । नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न उनले आग्रह गरे ।
लघुवित्तहरुले धेरै राम्रो काम गरेको पनि उदाहरण रहेको भन्दै सबैलाई एउटै समूहमा हाल्दा ३० वर्षसम्म गरेका योगदान काम नलाग्ने उनको भनाइ छ । कुनै पनि लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दिन सबैलाई उनले आग्रह गरे । नेपालले लघुवित्त खारेज नभएर देखिएका समस्या समाधान गरी परिमार्जन गर्दै लैजान आवश्यक रहेको बताए ।
पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाले खराब काम गरेको भन्दै करेक्शन गरिने उनले बताए । पछिल्लो समय केही शेयरका खेलाडीहरु लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेको समेत आरोप उनले लगाए ।
त्यस्तै, माइक्रोफाइनान्स एशोसिएशन नेपालका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रोफाइनान्स भएकाले समस्या आएको बताए । उनले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनभित्र लघुवित्तहरु बसेर काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने बताए । लघुवित्तहरुले ग्रामीण क्षेत्रमा कसरी लगानी गरेर उत्पादन बढाउने र बजारको व्यवस्थापन गर्ने भन्ने विषयमा लागेको उनले बताए ।