
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेर्पा समुदायको नयाँ वर्ष ग्याल्बो ल्होसार २०७९ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले शेर्पा समुदायसहित सबै नेपालीमा शुभकामना व्यक्त गरेका हुन् ।
“ल्होसार सबै नेपालीका लागि ऐतिहासिक र प्रेरणादायी दिन हो । पर्वमा मान्यजनहरुबाट आशीर्वाद ग्रहण गर्नुका साथै परिवार र आफन्तहरुको सुस्वास्थ्य र दीर्घायूको कामना गर्ने परम्परा रहीआएको छ” उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
विविधतामा एकतासहित सबै वर्ग, जाति, समुदाय, क्षेत्र र लिङ्गको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिने प्रधानमन्त्री प्रचण्डले चर्चा गरेका छन् ।
सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा गर्न प्रतिवद्ध रहेको उनले शुभकामना सन्देशमा उनले भनेका छन्, “ग्याल्बो ल्होसारको ऐतिहासिक दिनले आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सदभाव, सहकार्य र एकतालाई थप मजबुत गर्नेछ भन्ने विश्वासका साथ शेर्पा समुदाय लगायत सम्पूर्ण जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
