
काठमाडौं, ८ भदौ — अफगानिस्तानको उग्रवादी गुट तालिबान, अल कायदा र उनीहरूको सहायक संगठन एवं अमेरिका नाटोको सेनाका बीच सन् २००१ देखि युद्ध चलिरहेकै छ ।

अफगानिस्तानमा तालिबानलाई सिध्याउने उद्देश्य अमेरिकाले लिएको छ । सन् २००१ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि त्यो आक्रमण गराउने ओसामा बिन लादेन अफगानिस्तानमा लुकेको अवस्थामा त्यहाँ युद्ध चलेको हो ।
अहिले अफगानिस्तानमा १० हजार अमेरिकी सैनिक विद्यमान छन् र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प अझै थप सेना पठाउने सुरमा छन् ।
सन् २०११ मा अमेरिकाले ओसामा बिन लादेनलाई मारिँदासम्म अफगानिस्तानमा सेना गठन गरिसकिएको थियो । अमेरिकाको मिसन पनि पूरा भइसकेको छ ।
त्यसैले सन् २०११ को जुन महिनाको २२ तारिखमा तत्कालीन राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउसबाट अमेरिकी जनतालाई सम्बोधन गर्दै अफगानिस्तानबाट अमेरिकी सेनालाई फिर्ता बोलाउने घोषणा गरे ।
तर एकैचोटि पूरै सेना फिर्ता गर्न सम्भव थिएन । त्यसैले ससानो टुकडी फिर्ता गर्न थालियो ।
पहिला दश हजार, सन् २०१२ मा २३ हजार र सन् २०१४ मा १० हजार सैनिक फिर्ता बोलाउने निर्णय गरियो केहीलाई चाहिँ अफगानिस्तानको अस्थिरताका कारण फिर्ता ल्याइएन ।
अहिले अफगानिस्तानमा नाटो देशहरूका जवानका साथ करीब नौ हजार सैनिक छन् । अफगानिस्तानमा नयाँ सरकार र सेना गठनका बाबजुद हिंसामा कमी आएको छैन ।
अफगानिस्तानमा हजारौं आतंकवादी र आम नागरिकका साथसाथै अमेरिकी सैनिकले पनि ज्यान गुमाएका छन् ।
युनाइटेड डिमार्टमेन्ट अफ डिफेन्सको प्रतिवेदनअनुसार अहिलेसम्म अफगानिस्तानमा चार हजार ११० अमेरिकी सैनिकको मृत्यु भइसकेको छ । अनि घाइतेको आँकडा त २० हजारभन्दा बढी छ ।
एजेन्सी