
नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले दिएको उम्मेदवारले नै जित्ने दावी गरेका छन् । मङगलबार सिन्धुलीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले त्यस्तो दावी गरेका हुन् ।
‘नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएको उम्मेदवारले जित्छ, ढुक्क हुनुहोस’ उनले भने । कांग्रेस ठूलो दल भएकाले राष्ट्रपतिमा हक लाग्ने उनले बताए । राष्ट्रपति निर्वाचनमा दलहरुबीच राष्ट्रिय सहमति बन्ने आधार नभएको उनको भनाइ छ ।
‘माधब नेपालीजी या अरु कोहीजीहरुले उम्मेदवारी दिए पनि कांग्रेसले आफ्नो उम्मेदवार उठाउँछ र विजयी बनाउँछ’ उनले भने, ‘राजनीतिक दलभन्दा बाहिर टावर पर्सन त्यस्तो कोही छैन, कसैको नाममा राष्ट्रिय सहमति सम्भव पनि छैन ।’
विगतमा पार्टीको तर्फबाट केही कमी कमजोरी भएकाले तत्कालिन सत्ता गठबन्धन टुटेको उनले स्वीकार गरे । त्यसको समीक्षा गर्दै पुनः त्यस्तो कमजोरी नहोस् भन्नेमा कांग्रेसले ध्यान दिनुपर्छ उनले भने ।