०५ साउन २०८३, मंगलबार

चलचित्र प्राविधिक संघको अध्यक्षमा पुनः पुष्कर लामा निर्वाचित

फागुन ११, २०७९
चलचित्र प्राविधिक संघको अध्यक्षमा पुनः पुष्कर लामा निर्वाचित

नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।

बिहीवार राजधानीमा सम्पन्न संस्थाको बीसौं वार्षिक साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

यसअघि उनले २०७२ र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गरेका थिए । तेस्रोपटक निर्वाचित हुँदै उनले घरेलु फिल्मको प्राविधिकको छाता संस्थालाई नेतृत्व गर्ने अर्को मौका प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत राजुप्रसाद धिमालले अध्यक्षसहितका अन्य दुई पदमा पनि सर्वसम्मत पदाधिकारी निर्वाचित भएको जानकारी दिए । उनका अनुसार ‘के घर के डेरा’ फेम्ड निर्माण नियन्त्रक युवराज कार्की महासचिवमा र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित भए ।

अन्य पदका लागि निर्वाचन भइरहेको छ । अध्यक्षको रुपमा ह्याट्रिक गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लामाले फिल्म प्राविधिकलाई सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु आफ्नो मुख्य एजेण्डा रहेको बताए ।

लामाकै नेतृत्वमा आगामी जेठ १३ गते अमेरिकी संस्करणको नेफ्टा फिल्म अवार्ड समेत आयोजना हुँदैछ ।

यसमार्फत फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने उनको योजना छ । 

नेफ्टाको साधारण सभाका लागि बिहीवार देशभर फिल्म छायांकन कार्य स्थगित गरिएको थियो भने जिल्लामा पुगेका प्राविधिक सदस्यहरू राजधानी आइपुगेका थिए ।

साधारण सभाको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले फिल्म प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आफूले पहल गर्ने वचन दिएका थिए । निजामती अस्पतालमा प्राविधिक र कलाकारलाई उपचारमा ५० प्रतिशत छुट दिन पहल गर्ने आश्वासन पनि उनले दिए ।

salt training

कमेन्ट गर्नुहोस्