
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फेरि वार्ता गर्ने भएका छन् । उनले राष्ट्रपतिको विषयमा सहमति जुटिनसकेकाले दलहरुबीच छलफल चलिरहेको बताएका हुन् ।
उनले सबैसँग छलफल चलिरहेको भन्दै शुक्रबार एमाले अध्यक्ष केपी ओलीसँग पुनः एकपटक छलफल गरिने बिहीबारको तीन दलको बैठकपछि सञ्चारकर्मीहरुलाई बताएका थिए । सिंहदरबारमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी र जनता समाजवादीसँगको बैठकबाट बाहिरिने क्रममा उनले भनेका थिए, ‘छलफल चलिरहेको छ । सहमति भएको छैन । (भोलि शुक्रबार) एमाले अध्यक्षसँग पनि मेरो छलफल छ । सबैको सबैसँग चलेको छ । केही टुंगो भएको छैन ।’
तीन दलको बैठकले राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाममा सहमति भएको बताइएको छ । सोहीअनुसार प्रचण्डले ओलीलगायतसँग वार्ता गर्ने बताइएको छ ।