
‘ग्लोबल कन्ज्युमर एक्स्पो २०२६’ को दोस्रो संस्करण भोलि शुक्रबार (जेठ २९ गते)देखि असार २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ । आयोजक इभेन्ट सोलुसन प्रालिले बिहीबार प्रेस विज्ञप्तिमार्फत एक्स्पोको औपचारिक घोषणा गरेको हो ।
‘सपिङको नयाँ ठेगाना’ नारासहित आयोजना हुने पाँचदिने व्यापार मेलामा स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्ड, नवप्रवर्तनशील उद्यम र उपभोक्तालाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । एक्स्पोमा १५० भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् भने ३५ हजारभन्दा बढी आगन्तुकको उपस्थिति रहने अनुमान गरिएको छ ।
प्रदर्शनीमा द्रुत उपभोग्य वस्तु (एफएमसीजी), घरेलु उपकरण, विद्युतीय सामग्री, फेसन परिधान, स्वास्थ्य तथा सौन्दर्य सामग्री, प्रविधि समाधान, हस्तकला तथा गरगहना लगायतका उत्पादन प्रदर्शन गरिनेछन् । दर्शकका लागि विशेष छुट योजना, लक्की ड्र, उपहार तथा अन्य आकर्षक अफरसमेत राखिने जनाइएको छ ।
आयोजकका अनुसार एक्स्पोको मुख्य उद्देश्य व्यवसाय-देखि-व्यवसाय (बीटुबी) नेटवर्किङ र व्यवसाय-देखि-उपभोक्ता (बीटुसी) अन्तरक्रियाका लागि प्रभावकारी प्लेटफर्म उपलब्ध गराउनु हो ।
यस वर्ष एक्स्ट्रिम पावर्ड बाइ पार्टनर, आईटी जोन नेपाल सर्भिलेन्स पार्टनर, खल्ती बाई आईएमई टिकटिङ पार्टनर तथा मेइन किड्स मुख्य प्रायोजकका रूपमा रहेका छन् ।
प्रदर्शनीको दीर्घकालीन उद्देश्यबारे इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले व्यवस्थित व्यापार मेलाले उत्पादक, व्यवसायी र उपभोक्तालाई एउटै छानामुनि ल्याएर प्रत्यक्ष संवाद तथा अन्तरक्रियाको अवसर प्रदान गर्ने बताए ।
उनका अनुसार यस्ता प्रदर्शनीले बजारको आवश्यकता, उपभोक्ताको रुचि र व्यवसायिक सम्भावनाबारे गहिरो बुझाइ विकास गर्न मद्दत पुर्याउँछन् ।
यस वर्ष आगन्तुकको गुणस्तरीय सहभागिता सुनिश्चित गर्न टिकट प्रणाली लागू गरिएको पनि आयोजकले जनाएको छ । प्रवेश शुल्क ५० रूपैयाँ तोकिएको छ ।
खल्ती एपमार्फत युनियन पे क्यूआर प्रयोग गरी टिकट खरिद गर्दा शतप्रतिशत रकम फिर्ता हुने तथा एक्स्ट्रिम इनर्जी ड्रिंकमा ४० रूपैयाँ छुटको व्यवस्था गरिएको छ ।
एक्स्पोको उद्घाटन शुक्रबार दिउँसो १ बजे कलाकार रिचा शर्माले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।