२८ जेठ २०८३, बिहीबार

युक्रेन युद्धको एक बर्ष पूरा, युद्धबारे विश्व नेताहरूको प्रतिक्रिया

फागुन १२, २०७९
युक्रेन युद्धको एक बर्ष पूरा, युद्धबारे विश्व नेताहरूको प्रतिक्रिया

रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा भएको दिन विश्व नेताहरूले शुक्रबार युद्धबारे आ–आफ्ना विचार सार्वजनिक गरेका छन् । 

चीनले युद्ध अन्त्यका लागि तत्काल शान्ति वार्ताको आह्वान गरेको छ । चीनले रूसलाई हतियार उपलब्ध गराउनेबारे सोचिरहेको पश्चिमा मुलुकहरूको आरोपपछि चीनले सङ्कटको ’राजनीतिक समाधान’ का लागि आह्वान गर्दै १२ बुँदे कार्यपत्र जारी गरेको हो ।

अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि वार्ताको प्रयास अविलम्ब थाल्नुपर्ने बताउँदै  द्वन्द्वरत पक्षलाई जतिसक्दो चाँडो राजनीतिक समाधानको ढोका खोल्न आह्वान गरेको छ । शान्ति वार्ताको पुनः थालनीका लागि चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने जनाएको छ ।

सम्बद्ध पक्षलाई संयमित हुन आह्वान गर्दै बेइजिङले सबै पक्षलाई तनाव घटाउनेतर्फ लाग्न सुझाएको छ । सबै पक्षले रुस र युक्रेनलाई एउटै दिशामा काम गर्न र यथाशक्य चाँडो वार्ता पुनः सुरु गर्न सघाउनुपर्ने बताएको छ । युद्धविराममा पुग्न त्यो सहयोगी हुने विश्वास बेइजिङले व्यक्त गरेको छ ।

नेटोका प्रमुख जेन्स स्टोलटेनबर्गले सन् २०२२ को फेब्रुअरी २४ मा सुरू भएको आक्रमणको एक वर्षपछि युक्रेनीहरूले रुसविरुद्धको लडाइँमा ‘पक्कै पनि विजय हासिल गर्ने’ बताएका छन् ।
 
“स्वतन्त्रता सित्तैंमा हुँदैन । यसका लागि हामीले हरेक दिन लड्नुपर्छ,” उनले भने, “आज युक्रेनी जनता आफ्नो स्वतन्त्रताका लागि बहादुरीका साथ लडिरहेका छन् । अनि निराशा र विनाशको अँध्यारो वर्षको बावजुद तिनीहरूको दृढ संकल्प र साहस पक्कै पनि प्रबल हुनेछ ।”

यस सन्दर्भमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेयर लेयेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एउटा पनि लक्ष्य हासिल गर्न असफल भएको दावी गरेकी छन् ।

’युद्ध सुरु भएको एक वर्ष बितिसक्दा पनि पुटिनले आफ्नो एउटा पनि रणनीतिक लक्ष्य हासिल गर्न असफल हुनुभएको छ । युक्रेनलाई नक्साबाट मेटाउनुको साटो युक्रेन र सहयोगी राष्ट्रबाट रूसी सेना र राष्ट्रपति पुटिनले कडा प्रतिक्रियाको सामना गरिरहेका छन्,” उनले भनिन् । 

त्यसैगरी जापानका प्रधानमन्त्री फुमियो किशिदाले जी सेभेनको भर्चुअल बैठकमा रूसलाई सैन्य सहायता नपठाउन आग्रह गर्ने बताएका छन् । उनले भने, “जी–७ ले यस्तो सहयोग बन्द गर्न आह्वान गर्न चाहेको छ ।” वार्तामा समूहले मस्कोमाथि लगाइएको नयाँ प्रतिबन्धबारे छलफल गर्ने उनले बताए । 

संयुक्त राज्य अमेरिकाले रूसको लागि आर्थिक पीडा बढाउने उद्देश्यले व्यापक प्रतिबन्धहरूको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भनेको छ, “बैंक, खानी र रक्षा उद्योगलगायत क्षेत्रलाई लक्षित गरी लगाइएको नयाँ प्रतिबन्धले युरोप, एसिया र मध्यपूर्वका रुसी र तेस्रो मुलुकका २०० भन्दा बढी व्यक्ति र संस्थालाई प्रभावित पार्नेछ ।”

बेलायतका राजा चाल्र्स तृतीयले युक्रेनमाथि रूसले गरेको आक्रमणको निन्दा गरेका छन् । उनले भने, “युक्रेनका जनताले आफ्नो राष्ट्रमाथि बिना उक्साहटपूर्ण आक्रमणबाट अकल्पनीय क्षति व्यहोर्नुपरेको एक वर्ष भइसकेको छ । संसार सबै अनावश्यक कष्टहरू देखेर भयभित बनेकोे छ ।” “रूसी हस्तक्षेपविरूद्ध हामी एक ढिक्का भएर उभिएका छौं,” उनले भने । 

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले युक्रेनलाई फ्रान्सको समर्थन रहेको बताएका छन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबारको जी–७ बैठकमा अन्तरराष्ट्रिय समुदायलाई  युक्रेनलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले विश्व नेताहरूलाई युक्रेनमा नागरिक पूर्वाधारको रक्षा गर्न र फ्रन्ट लाइन डिफेन्सहरू जोगाउन मद्दत गर्नुपर्ने भन्दै तत्काल  रुसविरुद्धको द्वन्द्वमा मद्दत गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री सुनकले यसअघि बेलायतको भ्रमणका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लामो दूरीका हतियार समर्थनको प्रतिवद्धता व्यक्त गरेका थिए। 
 
त्यसैगरी पोल्याण्डका प्रधानमन्त्री मेटुज मोराविकीले रुसविरुद्ध युक्रेनको रक्षाका लागि थप सहयोगको स्पष्ट र मापन योग्य सङ्केत दिन कीभको भ्रमण गरेको पोल्याण्ड सरकारका प्रवक्ताले बताएका छन् । रूसी हस्तक्षेपविरूद्धको ऐक्यवद्धतास्वरूप पोल्याण्डले आक्रमणपछि भागेका ८० लाखमध्ये १५ लाखभन्दा बढी युक्रेनी शरणार्थीलाई आश्रय दिएको उनले बताए ।


 

salt training

कमेन्ट गर्नुहोस्