काठमाडौँ, ९ भदौ- भारतमा औपचारिक भेटवार्तापछि आयोजित भारतीय प्रम नरेन्द्र मोदीसंगको पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले लिखित भाषणमा नभएको दुई विषय उल्लेख गरे । पहिलो, भारतविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने । दोस्रो, दुईतिहाइ पुगेपछि संविधान संशोधन गर्ने । स्रोतका अनुसार यी दुवै विषय देउवाको लिखित भाषणमा उल्लेख थिएन ।

देउवाले संविधान संशोधनमार्फत पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैले आत्मसात् गर्ने वातावरण बनाउने बताए । जबकि यो विषय लिखित भाषणमा उल्लेख थिएन । ‘यो विषय लिखित भाषणमा थिएन, तर प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई आश्वस्त पार्न भन्नुभयो,’ एक सरकारी अधिकारीले भने । सुरुमा प्रधानमन्त्रीपत्नी आरजु देउवाले तयार गरेको प्रारम्भिक मस्यौदालाई परराष्ट्रका अधिकारीले अन्तिम रूप दिएका थिए । मोदीले सबै पक्षलाई साथमा लिएर जाने सरकारको प्रयासको प्रसंग निकालेपछि देउवाले मौखिक रूपमा जवाफ दिएका थिए ।
नेपाल–भारत सम्बन्धका जानकार तथा काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. उद्धव प्याकुेलले मोदी र देउवा दुवैको धारणा समय–सान्दर्भिक नरहेको प्रतिक्रिया दिए ।
‘भारतमै अल्पसंख्यकहरूलाई बहिष्करण गरेको आरोप खेपिरहेका मोदीले नेपालमा सबैलाई लिएर अघि बढ्नेजस्ता विषय उल्लेख गर्नु सान्दर्भिक थिएन,’ नयाँदिल्लीमा रहेका प्याकुरेलले भने, ‘देउवाले पनि मोदीसँग त्यो विषय उठाउनु जरुरी थिएन । उहाँले बोल्नुनपर्ने विषय बोलेर आफ्नो उचाइ घटाउनुभयो । यो स्वाभाविक विषय भएन ।’ नयाँ पत्रिकामा खबर छ |