०३ साउन २०८३, आइतबार
सर्वाेच्च पदको चुनाव

राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता हुँदै

फागुन १३, २०७९
राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता हुँदै

मुलुककोे सर्वाेच्च पद राष्ट्रपतिको फागुन २५ गते हुने निर्वाचनका लागि आज शनिवार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

राष्ट्रपति उम्मेदवार बन्न ५/५ जना प्रस्तावक र समर्थक हुनुपर्ने कानूनी व्यवस्था छ । मुलुकको राष्ट्राध्यक्षका रूपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।     मुलुकमा २०६२/६३ को आन्दोलनको उपलब्धिका रूपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपतीय प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ ।

राष्ट्रपति निर्वाचनको मतदाताको संख्या संघीय संसद्को ३३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको ५५० गरी कूल ८८२ कायम छ । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । संघीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने र २ पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा संघीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ । विगतका अरु निर्वाचनका तुलनामा यो निर्वाचन अझ स्वच्छ, स्वतन्त्र, निष्पक्ष,  मर्यादित र व्यवस्थित ढंगले सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । उनले भने, ‘निर्वाचनका सबै प्रक्रिया पूरा गरेरपछि यहाँ कायम गरिएको २ मतदान केन्द्रमा फागुन २५ गते १० देखि ३ बजेसम्म मतदान हुनेछ । सोही दिन साँझ ७ बजेभित्र मत परिणाम प्रकाशित गरिसक्ने आन्तरिक तयारी गरिएको छ ।’

उम्मेदवारले पदको गरिमालाई कायम गरेर सोहीअनुरूप प्रचारप्रसार लगायतका कार्यक्रमलाई व्यवस्थित गर्ने निर्वाचन आयोगले अपेक्षा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्