०७ असार २०८३, आइतबार

रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेंडा खेती

फागुन १३, २०७९
रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेंडा खेती

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ का ज्ञवाली परिवारले गोलभेंडा (टमाटर) बाटै मनग्ये आम्दानी गर्दै आएका छन् ।

कमल र कपिल ज्ञवाली दाजुभाइले मिलेर आफ्नै घरबारीमा गोलभेंडा खेती गरिरहेका छन् ।

२ दाजुभाइसँगै घरपरिवारका सबै मिलेर व्यावसायिक कृषिमा लागेका छन् । उनीहरूले अहिले दाजुभाइ कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर गोलभेंडा खेती गरिरहेका छन् । ज्ञवाली परिवारका ६ जना खटेर गोलभेंडा खेतीलाई अहिले ५२ रोपनी जग्गामा विस्तार गरेका छन् ।

उनको बारीबाट अहिले वार्षिक ८०० देखि ९०० क्विन्टल गोलभेंडा बिक्री हुँदै आएको छ । उनको फार्मबाट हाल प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा गोलभेंडा बिक्री हुन्छ । मूल्य घटबढ भए पनि गोलभेंडाको लागि बजारीकरणको कुनै समस्या नभएको दाजु कमलले बताए ।

व्यवसायको शुरूआती चरणमा भएको क्षति पूरा गरेर अहिले पनि मासिक रूपमा १ देखि २ लाख खर्च कटाएर बचत हुने गरेको कमलले बताए । ‘हप्तामा ३ देखि ४ पटक गोलभेंडा गाडीमा बुटवल पठाउँछौं, १ पटकमा १ लाख बराबरको जाने गर्दछ,’ उनी भन्छन्, ‘खेतीमा परिवारका सबै सदस्य खट्छौं, खर्च कटाएर पनि मासिक १/२ लाख आम्दानी हुन्छ ।’

लगातार मेहनत गर्नेहरू व्यावसायिक रूपमा कृषिमा प्रेरित हुनुपर्ने कमलको भनाइ छ ।

दाजुभाइ कृषि फार्मलाई संरक्षित संरचनामा प्रांगारिक तरकारी उत्पादन कार्यक्रमका लागि गत आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा ४ लाख सहयोग गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । उनले व्यावसायिक कृषिमा लागेर अरुलाई पनि उदाहारण दिन सक्नेलाई प्रोत्साहित गरिरहेको बताए ।

कृषि क्षेत्रमा परिवार सबै मिलेर खेती गरी उदाहरण दिँदै मनग्ये आम्दानी गरिरहेको कमल र कपिललाई कृषि ज्ञान केन्द्रले उत्कृष्ट कृषकमा छनोट गरी सम्मान गरेको थियो । दाजु कमल २०७९ सालको संविधान दिवसको अवसरमा नेपाल सरकारबाट विकास रतन पदकबाट विभूषित समेत भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्