
काठमाडौँ । २०७२ सालको भूकम्पले जीर्ण हनुमान ढोकाको आगमछेँ काठमाडौँ महानगरपालिकाले अगाडि बढाउने उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । बसन्तपुरको सौन्दर्य तथा व्यवस्थापनमा सरोकारवाला अधिकारीहरुसँग छलफल र स्थलगत भ्रमण गर्दै उनले जनसहभागिता जुटाएर, स्थानीयको अपनत्व हुने गरी महानगरपालिकाले काम गर्ने बताएकी हुन् ।
मखन, मरुगणेश लगायत स्थानमा सवारी आवागमनको अत्याधिक चाप भएका कारण सहज आवागमनमा बाधा सिर्जना भएको बताउँदै उपप्रमुख डंगोलले सम्पदा क्षेत्रको सुन्दरता र जनजीवनको सहजताको लक्ष्य हुनु पर्ने धारणा राखिन् । विगतमा भएका सिकाइ र सफल अभ्यासलाई पछ््याउँदै गुनासालाई शुन्य बनाउने, मौलिकतामा निखार ल्याउने काममा प्रगति नहुञ्जेल साझेदारहरु हरेक १५ दिनमा बैठक बसेर संयुक्त प्रयास गर्नु पर्ने उनको भनाइ छ ।
बसन्तपुर क्षेत्रमा भएका सहयोगापेक्षी मानव व्यवस्थापनका लागि महानगरले तत्काल काम गर्दैछ । बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, तत्काल सुधार गर्नुपर्ने १७ बुँदे विवरण राखेका थिए। यीमध्ये ‘६ स’ अर्थात् ‘सरससफाई, सुन्दरता, सुरक्षा, सत्कार, सम्पदाको महत्व प्रवर्धन र सहयोगापेक्षीको व्यवस्थापनमा एकीकृत प्रणालीबाट काम गरेर अवस्थामा सुधार ल्याउनु पर्ने खाँचो औँल्याए ।
छलफलका क्रममा कुमारी घरको पुननिर्माण र सजावट, जात्रा सञ्चालनका क्रममा गाडिएका खम्बा र बनाइएका खाडल व्यवस्थापन, टेकाका भरमा अड्याइएका भौतिक संरचनाको व्यवस्थापनमा तत्काल काम गर्नुपर्ने बताइएको छ । सम्पदा क्षेत्रमा कपडालगायत बस्तुको व्यापार नसुहाउने भएको, दुव्र्यसनीहरुको संख्या बढ्दै गएको, परेवाको चारो, चिया र पर्यटकलाई दवाव दिएर सामान वेच्ने परिपाटी नियन्त्रण हुनु पर्ने विषय प्राथमिक थियो । सम्पदा क्षेत्रभित्र सवारी प्रवेश पूर्ण रोक लगाउनु पर्ने र बसन्तपुरको व्यवस्थापनका लागि काम गर्ने सरकारी कार्यालय बिच समन्वय बढाउनु पर्ने छलफलको अर्को महत्वपूर्ण विषय थियो ।
शौचालयमा जनसाधारणको पहुँच र निर्वाध अवलोकनको वातावरण वसन्तपुर व्यवस्थापनका दृष्टिले सार्वजनिक सरोकारका विषय हुन् । यी विषयसँग स्थानीयबासीको दैनिक जीवन यापनसँग जोडिएका सवाल सम्बन्धित छन् ।
स्थानीयलाई दिने र महानगरले लिने दुवै पक्ष उत्तिकै महत्वपूर्ण छन् । छलफलमा विधायन समितिका संयोजक एवं वडा २३ का अध्यक्ष मचाराजा महर्जनले, स्थानीयबासीको जीवनस्तर सुधार गर्न र व्यवसायिक समस्या समाधानमा सँगै काम गर्नुपर्ने बताए ।
छलफलमा हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले, बसन्तपुरको विकास र व्यवस्थापनमा काम गर्ने सरकारी अड्डाले वार्षिक कार्यक्रम बनाउँदा समन्वय गरेर नदोहोरिने गरी बनाउनु पर्ने बताए ।
जुद्ध शालिकबाट बसन्तपुर प्रवेश गर्ने स्थानमा राखिएका गमला र फूलले सुन्दरता बढाएको विषय उठेपछि त्यसको नियमित सम्भारका लागि आउँदो हप्तादेखि महानगरले उद्यानमा काम गर्ने कर्मचारी खटाउने प्रशासन विभागका प्रमुख दिपक अधिकारीले बताए ।