पाल्पाको निस्दी–५ गल्धाकी विष्णुमाया राक्सेले अदुवा खेती गर्न थालेको १० वर्ष भएको छ ।
अन्य खेती छाडेर अदुवा खेती गर्दै आएका राक्सेको परिवारले अदुवाको मूल्य नपाएपछि यसबाट विस्थापित हुन थाले ।
‘खेती गर्यो, बेच्ने बेलामा मूल्य नै आउँदैन । लगानी उठाउन पनि गाह्रो,’ राक्से भन्छिन्, ‘अदुवा खेती गर्ने मन नै मरेको थियो ।’ गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले गाउँमै प्रशोधन केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले बजार मूल्य पाउन थालेका हुन् ।
राक्सेजस्तै गल्धाका धेरै महिला विगतका वर्षमा भएको अदुवाको बजार मूल्यको उतारचढाव तथा बजारको अनिश्चिताको कारणले अदुवा खेती कम गर्दै अन्य बाली खेती गर्न बाध्य थिए । गत वर्षबाट आफ्नै सहकारीले अदुवाको संकलन, बजारीकरण तथा प्रशोधन शुरू गरेपश्चात् उनीहरू उत्साहित भएका हुन् । ८ रोपनीमा अदुवा खेती गर्दै आएकी उनले मकै र कोदो लगाएको बाँकी ८ रोपनीमा पनि अदुवा खेती नै गर्ने सोच बनाएकी छन् ।
विगतमा अदुवा उत्पादनमा पाल्पा जिल्लालाई अगुवाइ गरेको निस्दी गाउँपालिका र यहाँका कृषक बजारको अनिश्चितता र उत्पादनको उचित मूल्य नपाउँदा अदुवा खेतीमा आकर्षण विस्तारै घट्दै गएको थियो । अदुवाको बजार सुनिश्चितता तथा कृषकलाई उचित मूल्य प्रदान गर्न विगत २ वर्षदेखि गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले बजारीकरण गर्दै आएको छ । संस्थाका व्यवस्थापक दिलमाया सारुका अनुसार दुई वर्ष अगाडि कृषकबाट उत्पादित सात हजार ६४ केजी अदुवा खरिद गरी बजारीकरण शुरू गरेकोे सहकारीले गत वर्ष ६३ हजार १२३ केजी अदुवा खरिद गरी बजारीकरण गरेको थियो ।
‘निस्दीमा बिजुली छैन, हामीले सोलार प्रविधिबाट अदुवालाई प्रशोधन गर्ने प्रविधि ल्याएका छौं,’ सहकारीका व्यवस्थापक सारुले भनिन् । गत वर्षबाट वातावरणमैत्री सोलार ड्रायर (अदुवाको चाना सुकाउने प्रविधि)को प्रयोग गरी चाना तथा धुलो प्रशोधन र ब्रान्डिङ शुरूआत गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित सोलार ड्राइङ गरेको प्रांगारिक अदुवाको चानाको उच्च माग रहेको छ । सहकारीमा आधुनिक अदुवा प्रशोधन केन्द्र स्थापना गरिएको छ । सहकारीका कार्यबाहक अध्यक्ष सीतादेवी घिमिरेका अनुसार ४०० मेट्रिक टन अदुवा प्रशोधन गर्नसक्ने क्षमताको प्रशोधन केन्द्रबाट यस वर्ष २०० मेट्रिक टन अदुवा प्रशोधन गरीएको छ । यहाँबाट प्रशोधित अदुवा विदेश निर्यातसम्म गर्ने लक्ष्य सहकारीको छ ।