
सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएकाले खोप लगाउने तयारी गरिएको छ । दुई साताको अवधिमा बर्जुमा २९ जना दादुरा पोजेटिभ भेटिएको प्रदेश १ स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बर्जुमा पहिलो पटक वडा २ मा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन् । जसमध्ये केही वयष्क व्यक्ति समेत छन् । योसँगै गाउँपालिकाको एकै स्थानमा एकसाथ ५ जना बढी दादुरा संक्रमित भेटिएसँगै स्वास्थ्य कार्यालय सुनसरीले आपतकालिन कार्ययोजना अघि बढाएको छ ।
प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय निकायसँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले १० हजार बालबालिकालाई दादुराबिरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताए ।
दादुरा अति संक्रमित रोग भएकाले एउटै क्षेत्रमा ५ जना पुष्टि भएसँगै यसलाई महामारीको रुपमा लिइने उनले बताए । यसलाई रोक्न ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने उनले बताए ।
२९ जना पोजेटिभ केस फेला परिसकेको बर्जुमा थप केही शंकास्पद केस परीक्षणको क्रममा रहेकाले संख्या बढ्नसक्ने स्वास्थ्य कार्यालय सुनसरीको अनुमान छ । दादुरा तिब्र संक्रमण फैलने र जटिल प्रकृतिको रोग भएकाले फैलन नदिन रोकथामका सबै उपाय अविलम्व गर्न लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयका अनुसार बर्जुका सबै ६ वटै वडाहरुमा फागुनको १६ गतेबाट एकसाथ दादुराबिरुद्धको खोप अभियान सञ्चालनमा ल्याइनेछ । अभियानमा ६ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई दादुराबिरुद्धको खोप लगाउने तयारी थालिएको कार्यालयले जनाएको छ ।