
प्रहरीले देशको विभिन्न ठाउँबाट मृत व्यक्तिको शव फेला गरेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ बालाजु प्रगति गल्लीस्थित सडकपेटीमा लमजुङ्ग घर भएकी ३५ वर्षीया सोना गुरुङ शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटार बालुवापाटी डेरागरी बस्ने मोरङ घर भएकी ४४ वर्षीया सीता राई आफ्नै कोठामा शनिबार अवस्थामा फेला परेकी छन् । त्यस्तै, प्रहरीले दिएको जानकारी अनुसार बाँकेको डुडुवा गाउँपालिका–३ भगरास्थित राप्ती नदीमा राप्ती सोनारी गाउँपालिका–५ तिलहरिया बस्ने ८७ वर्षीय तिलबहादुर बुढा र उनकै श्रीमती ६७ वर्षीय बुद्धिमला बुढा मृत अवस्थामा फेला परेका छन् ।
उनीहरू गत माघ १० गते घरबाट नेपालगंज जान्छौं भनि हिँडेकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा नदीमा उनीहरूको शव फेला परेको प्रहरीको भनाइ छ । मृतकहरुको साथबाट ९ लाख ४१ हजार ४ सय रुपैयाँसमेत फेला परेको प्रहरीले जनाएको छ ।
यसैबीच रूपन्देहीको तिलोत्तमा नगरपालिका –१ शंकनगर सामुदायिक वनको सुखौरा खोलाको छेउमा पहिचान नखुलेको अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
सोहीअनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित दुधौरा पुल र बालगंगा पुलको बीचसडक छेउमा पहिचान नखुलेका अन्दाजी ६० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् । त्यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।