०५ साउन २०८३, मंगलबार

प्रचण्डका ज्वाइँको हर्कत : माओवादीका जिल्ला संयोजकलाई मन्त्रालयमै छुट्टै कार्यकक्ष

फागुन १४, २०७९
प्रचण्डका ज्वाइँको हर्कत : माओवादीका जिल्ला संयोजकलाई मन्त्रालयमै छुट्टै कार्यकक्ष

२०७९ मंसिर २० गते गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ विमोचन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशका संरचनाप्रति वितृष्णा बढेको बताएका थिए । उनले भनेका थिए, ‘म प्रस्ट छु, यो ५ वर्षपछि प्रदेश कामकाजी हुन्छ र प्रदेश चाहिन्छ भनेर कसैले भनिराख्नै पर्दैन ।  कि प्रदेश चाहिन्छ भनेर कसैले जति रटान गरे पनि प्रदेश चाहिँदैन भनेर सडकबाटै जनताले भनिदिन्छ, त्यो ठाउँमा पुग्छौं ।’

प्रदेश संरचनामा प्रदेशमा नेतृत्व गर्नेले सोचविचार नगरे जनताले सडकबाट नै चाहिँदैन भन्ने विद्रोह हुन सक्ने उनले बताए । 

बुधवार १ नम्बर प्रदेशकै एक मन्त्रीले पनि महामन्त्री थापाकै जस्तो प्रदेशको अन्तिम मन्त्री भइएला कि भन्ने खतरा बढेको बताए । बढेको वितृष्णा घटाउन मन्त्रीहरूले कुनै चासो दिएका छैनन् । बरु वितृष्णा बढाउने काम गरिरहेका छन् । 

प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री जीवन आचार्यले माओवादी नेतालाई मन्त्रालयमै कोठा उपलब्ध गराएका छन् । मन्त्रालयका पूर्व राज्यमन्त्री समेत रहेका विजय विश्वासलाई उनले कोठा नै दिएर राखेका छन् ।

उनलाई कुनै पनि पदमा नियुक्त भने गरिएको छैन । मन्त्रीको कार्यकक्ष छेउमै रहेको कोठामा टेबुल र कुर्सी राखिएको छ । पुस २९ गते मन्त्रीमा नियुक्त भएका आचार्यले २ जना स्वकीय सचिव नियुक्त गरिसकेका छन् । प्रमुख स्वकीय सचिवमा ईश्वरीप्रसाद आचार्य र स्वकीय सचिवमा कपिल सुनुवार नियुक्त भइसकेका छन् । सूचना प्रविधि भनेर प्रदीप घिमिरेलाई आचार्यले नियुक्त गरेका छन् । विश्वासलाई उनले कुनै पनि पदमा नियुक्त गरेका छैनन् तर कार्यालयमा आएर स्वकीय सचिवले गर्ने काम विश्वासले गर्ने गरेको त्यहाँका कर्मचारीहरू बताउँछन् ।

उनी दैनिकजसो नै मन्त्रालयमा आउने गरेका छन् । मन्त्रालयमा आएर कर्मचारीहरूलाई निर्देशन दिने काम पनि गर्ने गरेका छन् ।

‘उहाँले मन्त्रालयको प्रगतिको विषयमा चासो लिनुहुन्छ,’ एक कर्मचारीले भने, ‘अहिलेसम्म भएका काम र अब गर्ने काम के के हुन् भनेर पनि सोध्नुहुन्छ ।’

मन्त्रालयका सचिव डा. सञ्जीवकुमार राई मन्त्रीसँग सम्बन्ध बिग्रिने डरले बोल्न चाहँदैनन् । मन्त्री आचार्य प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ पनि हुन् । आचार्यसँग सबन्ध बिग्रिँदा सरुवा–बढुवामा पनि असर पुग्ने डरले बोल्न चाहँदैनन् । विजय विश्वास पूर्व राज्यमन्त्री समेत भएकाले उनीसँग गफ हुने गरेको र अन्य विषय आफूले नबोल्ने उनले बताए ।

यस विषयमा जानकारी लिन खोज्दा मन्त्रीसँग सम्पर्क हुन सकेन । मन्त्री आचार्य बिरामी भएर घरमै आराम गरिरहेका उनका प्रमुख स्वकीय सचिव ईश्वरी आचार्यले बताए । मन्त्रीको छेउमा कोठा खाली रहेको र पूर्व राज्यमन्त्री समेत भएकाले आउँदा कहिलेकाहीँ बस्ने गरेको उनी स्वीकार्छन् ।

उनी माओवादी केन्द्र मोरङका संयोजक पनि हुन् । माओवादीका अन्य नेताहरू पनि आएर बस्ने गरेको प्रमुख स्वकीय सचिव आचार्य बताउँछन् । ‘सरकारले नै अनावश्यक खर्च नगर्न भनेकाले नियुक्त गर्ने कुरा भएन । पार्टीमा कहिलेकाहीँ नेताहरू आउँछन् । पूर्व राज्यमन्त्री समेत भएकाले सल्लाह सुझाव दिन पनि आउनुहुन्छ । उहाँलाई कहीँकतै नियुक्त गरिएको छैन । उहाँका विरुद्धमा गलत प्रचार गरिएको हो,’ उनले भने । 

नेता विश्वास अनुगमन तथा भ्रमणमा पनि मन्त्री आचार्यसँगै हिँड्ने गरेका छन् । शेरधन राई मुख्यमन्त्री भएका बेला विश्वास राज्यमन्त्री भएका थिए ।  

मन्त्री आचार्य मन्त्रालयभन्दा बढी बाहिर घुमिरहेका हुन्छन् । उनी मन्त्री भएपछि तेह्रथुम ताप्लजुङ, पाँचथर उदयपुर लगायत प्रदेशका विभिन्न जिल्लामा पुगेका छन् । नेता विश्वासकै योजनामा मन्त्री आचार्यलाई अनुगमनका नाममा पठाउने र आफूले मन्त्रालयमा बसेर मन्त्रीले गर्ने काम गर्ने गरेको कर्मचारीहरू बताउँछन् । उनले कर्मचारीहरूलाई समेत निर्देशन दिने गरेका छन् । मन्त्रीलाई भेट्न आउनेले पनि मन्त्रीभन्दा पहिला उनलाई भेट्ने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्