
सत्तारुढ नेकपा माओवादी केन्द्रले आइतवारदेखि गण्डकी प्रदेशका सबै जिल्लामा ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने भएको छ ।
शहिद सप्ताहको पहिलो दिन पारेर शुरूआत भएको अभियान प्रदेशका सबै जिल्लामा एकसाथ सञ्चालन गर्न लागिएको माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङले बताए । उनका अनुसार केही दिनअघि बसेको प्रदेशको छैटौं पूर्ण बैठकले केन्द्रीय योजनाअनुसार प्रदेशमा अभियान चलाउने निर्णय गरेको हो ।
पार्टीका सबै नेता, कार्यकर्ता २ महिना जनता, शहिद परिवार, घाइते र बेपत्ता योद्धाका परिवारका बीचमा गएर पार्टी पुनर्निर्माणबारे सुझाव लिनेछन् । अध्यक्ष गुरुङले भने, ‘यो अभियान प्रदेशका १८ प्रतिनिधिसभा र ३६ प्रदेशसभा निर्वाचन केन्द्रित कार्यक्रममा पार्टी केन्द्रीय सदस्य साथ पार्टी प्रदेश पदाधिकारीको प्रत्यक्ष कमाण्डमा एकैपटक सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा चल्नेछ । मुख्यगरी पार्टीको सबै शक्तिलाई जनतासँग जोड्ने र उनीहरूका सुझाव लिने उद्देश्य अभियानको हो ।’
माओवादीले अभियानका लागि ‘टिप्पणी सुझाव र संगठनका लागि नेता, कार्यकर्ता र जनतासँग भेट गरौं, विचार र नेतृत्वका आधारमा संगठित तागत निर्माण र समृद्धिमा जोड गरौं’ भन्ने नारा अघि सारेको छ । २ महिनाको अभियानमा माओवादीले स्थानीय तह जितेका ठाउँमा पार्टीको चुनावी प्रतिबद्धता सहितको समाजवादको आधार तयार पार्ने योजना लागू गर्न योजनाबद्ध काम गर्ने, विजय हासिल नभएका ठाउँमा जनताका समस्या हल गर्न पालिकाहरूमा पहल गर्ने भएको छ ।
जनयुद्धका पूर्णकालीन र पार्टीका एकता भएपछि सबै पुराना छुटेका कार्यकर्ताहरूसँग र जेल हिरासतमा परेकाहरूको सूची तयार पारी घरघरमा गएर भेटघाट गर्ने, सुझाव लिने र पार्टीमा पुनःसंगठित गर्ने अभियानको योजना रहेको माओवादीले जनाएको छ ।
पालिकाहरूमा उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्ने र विज्ञहरूसँग समेत छलफल गरी २ महिने अभियान सफल बनाउन प्रदेश पार्टी फिल्डमा लागेको अध्यक्ष गुरुङले बताए ।