
मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि हातपात भएको छ।
विकास निर्माणको अनुगमनका क्रममा उनीमाथि आज (आइतबार) हातपात भएको हो ।
मध्यपुर थिमी नगरपालिकाको विकास निर्माणको कार्यक्रमअन्तर्गत उपभोक्ता समिति गठनका विषयमा सामान्य झडप भएको श्रेष्ठले लोकान्तरलाई बताए।
'सामान्य चोट लागेको छ, एमालेका मान्छेहरू आफूहरू नै उपभोक्ता समितिमा हुनुपर्छ भन्दै आएका थिए। उनीहरूसँग भनाभन भएपछि ममाथि हातपात भएको छ। तर चोट सामान्य छ,' उनले भने।
नगरपालिकाको मध्यपुर थिमी नगरपालिका वडा नं ५ बस्ने सुमन जोशीलगायत समूहहरूले आफूमाथि हातपात गरेका उनले बताए।
घटनापछि आफूहरूले प्रहरीमा जाहेरी दिएको बताएका छन्।
नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्षसमेत रहेका उनलाई हातपात गरी घाइते बनाउने उद्देश्यले कुटपिट गरेको घटनाको थिमी नगरपालिका र पार्टीले भर्त्सना गरेको छ ।
उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न नगरपालिका र नेकपा माओवादी पार्टी दुवैले माग गरेका छन् ।
बालकुमारी-हात्तीमहाकाल सडक आयोजनाको योजना शुरू गर्ने क्रममा दुई पोखरी टोलमा ढुंगा बिछ्याउने कार्यका लागि गत माघमा नगर प्रमुख र नगर उपप्रमुखको उपस्थितिमा सडक उपभोक्ता समिति गठन भएको थियो ।उक्त कार्य सुचारु गर्न सहजीकरण गर्न कार्य स्थलमा उपस्थित भएको बेला श्रेष्ठमाथि हातपात भएको जनाइएको छ।
हातपात गर्नेको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।