१७ असार २०८३, बुधबार
सरसर्ती २४ घण्टा

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भ्रमण रद्ददेखि रामचन्द्रलाई जिताउन कार्यदल गठनसम्म

फागुन १५, २०७९
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भ्रमण रद्ददेखि रामचन्द्रलाई जिताउन कार्यदल गठनसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पूर्वनिर्धारित कतार भ्रमण रद्द भएको छ । प्रचण्ड फागुन १९ मा कतार जाने तय भएपनि अन्तिम समयमा आएर रद्द गरिएको हो । 
राष्ट्रपतिको निर्वाचन लगायतका कारण प्रधानमन्त्रीको भ्रमण रद्द भएको प्रेस संयोजक सूर्यकिरण शर्माले बताए । 
यसअघि अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री कतार जाने कार्यक्रम थियो । प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण पनि रोकेका छन् । उनको भ्रमण रद्द गरेर  पूर्व कानुनमन्त्री गोविन्द बन्दीलाई पठाइएको छ । 
००००
८ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ । गठबन्धनका उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई जिताउनका लागि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कार्यदल बनाएको हो । 
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङसहित एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल र जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।

त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी सदस्य रहेका छन् । 
कार्यदलले पौडेलको पक्षमा बढी भन्दा बढी मत बटुल्न भूमिका खेल्ने छ ।
००००
उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाइ दिएको छ।  नाबालिग बलात्कार आरोपमा अदालतले सफाए दिएसँगै उनी सोमबार रिहा हुनेछन्।
००००
बागमती प्रदेशसभाको आइतबार साँझ बसेको दोस्रो बैठकले दुई विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ पारित भएका हुन् । बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले ती दुवै विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।
००००
राप्रपाका मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त मन्त्रालयको कार्यभार सम्हालेका छन्। 
राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी ऊर्जा, शहरी विकास तथा कानून मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले ग्रहण गरेका जनाएको छ।
००००
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सोमबार पनि सुनुवाइ हुने भएको छ ।
आइतवार भएको सुनुवाइमा प्रतिवादी लामिछानेका तर्फबाट केही कानून व्यवसायीको बहस बाँकी नै रहेकाले उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
००००
नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् ।
धनुषामा प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि पुगेका उनले सञ्चारकर्मीसँग सरकार पुनर्गठनबारे छलफल नभएको बताए। 
००००
सत्ता सहयात्रामा खटपट आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश पोखरेका छन् ।
प्रचण्डको नामै नलिई ओलीले बिरालोलाई कचौरामा दूधभात राख्दिए पुग्ने टिप्पणी गरे ।

‘जनयुद्धको नाममा प्रचण्डले नयाँ हिंसाको अभियान शुरु गर्नुभयो । त्यसपछि राज्य र गैरराज्यतर्फबाट धेरैको हत्या भयो । मैना सुनुवारदेखि यदु गौतमसम्मको हत्या भयो । त्यसका सञ्चालक शासनको कार्यकारी ठाउँमा छन्, लामो समयदेखि लगातार । २०६३ देखि नै छन्, प्रधामनन्त्री भएको तीनपल्ट भयो । २०६२ पछि कोही त्यति लामो समय सत्तापक्ष भएको छ, जता जोसँग मिलेर भएपनि सत्तामा हुने’, आइतवार काठमाडौंमा शहीद, बेपत्ता र घाइतेको सम्मानमा आयोजित कार्यक्रममा ओलीले भने, ‘एउटा प्रवृत्ति के देखन्छ भने, बिरालो किन्नु पर्दैन, कचौरामा दूधभात जसले दिन्छ छिमेकीमा छिरिहाल्ने।’
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित तीनजना विरुद्ध ५ करोड ४५ लाख ५२ हजार ६७१ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
००००
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटमा पूर्वकप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन्। 
आइतबार सुर्खेतमा शुरू भएको क्यानको वार्षिक साधारणसभामा चन्दले सन्दीप जत्तिको खेलाडीले खेल्न पाउनुपर्ने बताए।
००००
साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । पछिल्लो एक साता निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक आइतवार सकारात्मक देखिएको छ ।
आइतवार नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा आएको पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्