०९ साउन २०८३, शनिबार

प्रतिस्पर्धात्मक खेलमा केपी ओली फुटबल क्लब पराजित

मच्छिन्द्र र सातदोबाटो फाइनलमा
फागुन १५, २०७९
प्रतिस्पर्धात्मक खेलमा केपी ओली फुटबल क्लब पराजित

सातदोबाटो युथ क्लव र मच्छिन्द्र फुटबल क्लवले केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । 

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मीलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सातदोबाटो युथ क्लवले फाइनलमा स्थान बनाउँदा अर्को खेलमा मच्छिन्द्रले आयोजक केपी ओली फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

यससँगै यी दुई टोलीबीच उपाधिका लागि प्रतिष्पर्धा निश्चित भएको हो । निकै प्रतिस्पर्धामक बनेको खेलमा मच्छिन्द्रले केपी ओली फुटबल क्लवलाई पराजित गर्ने क्रममा १९ औं मिनेटमा विमल घर्ती मगरले गरेको गोल नै निर्णायक बनेको हो । विमलले गरेको उक्त अग्रता नै उपाधि नजिक पुग्न निर्णायक बन्यो । विमल ह्यामस्ट्रिङको समस्या भोग्दै निर्धारित ९० मिनेट अगावै मैदान बाहिरिएका थिए ।

यस्तै यसअघि भएको पहिलो सेमिफाइनल खेल निर्धारित समयमा आर्मी र सातदोबाटोबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो । पेनाल्टीमा सातदोबाटो सफल भएको हो । आईतवार वर्षाले प्रभावित यी दुई टोलीबीचको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ सोमबार पुनः खेलाइएको थियो । 

पेनाल्टीमा सातदोबाटोका सुदीप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसिडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गर्दा दीपक राज ठकुरीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गरेका थिए । आर्मीका दिनेश हेन्जन, टेक बहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दीपक गुरुङले गोल गरे । सुदिल राईको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले बचाउँदा विकास खवासको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विधागत रूपमा उत्कृष्ट गोलकिपर र फरवार्डले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । साथै प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछ । उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्