
नेकपा (एमाले) ले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाए पनि माओवादीले प्रदेश १ सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने जनाएको छ । माओवादी प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राष्ट्रिय राजनीतिमा जेजस्तो परिस्थिति निर्माण भए पनि प्रदेश १ मा सत्ता समीकरणको फेरबदलबारे अहिले नै नसोचेको बताए ।
अहिले प्रदेश १ को सत्ता समीकरण परिवर्तन नहुने उनले बताए । माओवादीले प्रदेश १ को सरकार परिवर्तनका बारेमा नसोचेको नेता आङवोको भनाइ छ । राष्ट्रपतिको निर्वाचनपछि मात्रै जसपा र माओवादीले समर्थन फिर्ता लिने तयारीमा रहेको बुझिएको छ ।
प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार रहेको छ । माओवादी, जनता समाजवादी र राप्रपाको समर्थन छ । संघ तथा वागमतिमा राप्रपाका मन्त्रीले राजिनामा दिएर समर्थन फिर्ता गरे पनि प्रदेश १ मा भने राप्रपाका मन्त्री पनि सरकारमै छन् । राप्रपाका भक्ती सिटौला उद्योग कृषि तथा सहकारी मन्त्री छन् ।
हाम्रो कारणले राजनीतिक अस्थिरता हुने अवस्था नहोस् भनेर तत्काल राजिनामा नदिएको मन्त्री सिटालाले बताए । ९३ सीट रहेको प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सिटसहितको समर्थनमा एमाले नेतृत्वको सरकार बनेको छ ।
सरकारमा मुख्यमन्त्रीसहित एमालेका ३, माओवादीका २, राप्रपाका १ र जसपाका १ जना मन्त्री छन् । प्रतिपक्षीको बेञ्चमा नेपाली कांग्रेस, एकीकृत समाजावादी दल छन् । जसमा काग्रेसका २९ र नेकपा एकीकृत समाजावदीका ४ सासद छन् ।