
नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छन्।
मंगलवार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा डिजिटल प्रणाली शुरुवात गरे पनि त्यसको प्रयोग गर्न नेपालीहरू पूर्ण सक्षम नरहेको बताइन्।
उनले नेपाली सेनाको डेटाहरू टर्की पुग्ने गरेको आफूले जानकारी पाएको समेत खुलाइन्।
उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षालगायत सबैखाले तथ्यांकहरू चोरी हुने खतरा रहेको उल्लेख गरिन्। हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारले गरेको काममा आईटी क्षेत्रका विद्यार्थीहरूले थप अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ थियो।
उहाँले भन्नुभयो, ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले शुरु त गर्यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरूको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ । त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरूले यसमा अनुसन्धान गर्नुपर्छ ।’