
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफूहरू सरकारबाट नबाहिरिने बताएका छन्।
मंगलवार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले अन्य पार्टीहरू आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै उनले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताए।
उनले माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने बताए।
सरकारमा सामेल भएका दलहरू फेरिने भए पनि सरकार नफेरिने उनको भनाइ छ । जनमत पार्टी सरकारमा यथावत् रहेको उनले स्पष्ट पारे।
अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरूले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै सोहीबमोजिम पात्रको रुपमा रामचन्द्र पौडेललाई समर्थन गरेको पनि बताए।
जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिनु नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उनको भनाइ थियो।
राष्ट्रपति र सभामुख एउटै दलको भए निरंकुशता जन्मिने सक्ने उनले तर्क गरे।
आगामी राष्ट्रपतिले संसदबाट पारित भएका विधेयकहरूलाई उदारतापूर्वक प्रमाणीकरण गर्नुपर्ने उनले बताए।
उनले नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलनलगायत आफ्नो पार्टीले उठाएका एजेण्डा सम्बोधन हुने अवस्था नआए सरकारलाई गरेको समर्थन फिर्ता हुनसक्ने बताए। यद्यपि यी मागहरू पूरा गर्न सरकारलाई समय भने दिइने उनले बताए।