
कोरियन एयरलाइन्सले हवाई भाडामा गरेको मनोपोली नियन्त्रणका लागि सरकारले हस्तक्षेप गर्न सरोकारवाला निकायहरूले माग गरेका छन् ।
सोमवार पर्यटन मन्त्रालयमा भएको पत्रकारसँगको छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी ,नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका अध्यक्षले युवराज अधिकारीले यस्तो माग गरेका हुन् ।
उनीहरूले नेपालबाट दक्षिण कोरिया जानका लागि अन्य एयरलाइन्सको भन्दा ३६ प्रतिशत हवाई भाडा महँगो लिएको भन्दै सरकारले हस्तक्षेप गर्न आवश्यक रहेको बताए । उनीहरूले कोरियन एयरलाइन्सले मनोपाली रुपमा लिने गरेको हवाई भाडा घटाउन सरकारले हस्तक्षेपविना सम्भव नभएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले दक्षिण कोरिया जाने कामदार वा भिजिट भिसामा जाने सबैलाई न्यायोचित भाडादर हुनुपर्ने बताए।
उनले कोरियन एयरलाइन्सले मनोपोली रुपमा ३६ प्रतिशतसम्म अन्य एयरलाइन्सको तुलनामा बढी भाडा दिएकाले सरकारले तत्काल हस्तक्षेप गर्न आवश्यक रहेको बताए।
रेग्मीले नेपाल एयरलाइन्सले दक्षिण कोरिया ७० हजारदेखि बढीमा १ लाख ५५ सम्म भाडादर हुने भए पनि त्यसको डबल भाडा लिइरहेको बताए। उनले काठमाडौंबाट भन्दा भारतको नयाँ डिल्लीबाट कोरियाको भाडा सस्तो रहेको बताए।
उनले भारतको भन्दा नेपालमा हवाई इन्धन ३६ प्रतिशत महँगो भएता पनि भाडा पनि १२ प्रतिशतसम्म महँगो हुनुपर्नेमा ३६ प्रतिशत नै बढी लिनु गलत भएको बताए।
उनले सन् २०१९ सम्म एक हजार डलरमा उडान भइरहेकोमा पछिल्लो चार वर्षमा यस्तो धेरै भाडा बढ्नुपर्ने परिवर्तन केही नभएको बताए। उनले अन्य एयरलाइन्सको भाडा नबढेको तर कोरियन एयरलाइन्सको मात्रै भाडा किन बढ्यो भन्ने विषयमा अनुसन्धान गर्न जरुरी रहेको तर्क गरे।
त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले पनि कोरियन एयरलाइन्सले ३६ प्रतिशत बढी भाडा लिएको विषयमा सरकारले हस्तक्षेपको कमी भएको बताए।
प्राधिकरणले अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई दबाब दिएर भाडादर नघटाउने तर्क गरे।
अधिकारीले कोरियन एयरलाइन्सको भाडादरको मनोपोली नियन्त्रण गर्न राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स सक्रिय हुनुपर्ने बताए।
उनले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स सक्रिय भए मात्रै भाडा घट्ने दाबी गरे। उनले कोरियामा नेपाल एयरलाइन्सलाई उडान गराउन कोरिया सहमत रहेकाले नेपाल एयरलाइन्सले हवाई सुरक्षा मजबुत बनाउन आवश्यक रहेको बताए।