१० साउन २०८३, आइतबार

स्ववियु निर्वाचन गराउन देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

फागुन १६, २०७९
स्ववियु निर्वाचन गराउन देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ । 

आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरका त्रिवि आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै क्याम्पसले स्ववियु निर्वाचन गर्नका लागि निर्वाचन समिति गठन गरेको जानकारी दिए ।

प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको उनले बताए । समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ । त्रिविका सबै आंगिक क्याम्पसमा विद्यार्थी कल्याण प्रमुख रहने व्यवस्था रहेको छ । 

यसअघि त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकिएको छ । निर्देशनालयका निर्देशक अधिकारीले गठन गरिएको समिति र क्याम्पस प्रमुखलाई जिल्ला स्थिति निर्वाचन आयोगसँग स्ववियु निर्वाचनमा समन्वय गर्न अनुरोध गरिएको बताए ।

उनले स्ववियु निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत ७७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार समेत गरिएको जानकारी दिए । ‘स्ववियु निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरिएको छ,’ उनले भने, ‘क्याम्पस प्रमुखलाई समेत स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएका छौं ।’

आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक भइसकेको छ । 

कार्यतालिका अनुसार फागुन १९ गते विद्यार्थी संघ/संगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । 

कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । प्रत्येक २/२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन । विक्रम संवत् २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक ८ वर्षमा २०७३ चैत १५ गते भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्