१५ असार २०८३, सोमबार

खाँदबारी–नुम सडकखण्डको कालोपत्रको काम सुस्त गतिमा

फागुन १६, २०७९
खाँदबारी–नुम सडकखण्डको कालोपत्रको काम सुस्त गतिमा

सङ्खुवासभामा निर्माणाधीन उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिन सकेको छैन । 
ठेक्का लागेको लामो समय बितिसक्दा पनि राष्ट्रिय गौरवको किमाथाङ्का–विराटनगर कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने काम सुस्त गतिमा छ । 

ठेक्का लागेको १९ महिनामा करिब १७ प्रतिशत मात्रै काम भएको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले जानकारी दिए । सम्झौताअनुसार अब यो सडकखण्ड ११ महिनामा निर्माण सम्पन्न गरिसक्नुपर्छ । विसं २०७८ को असार १७ गते उत्तर–दक्षिण कोशी सडक योजनाले ठेक्का सम्झौता गरेको खाँदबारी–थामसेर्कु १४ किलोमिटर सडकको कालोपत्र गर्ने काम १७ प्रतिशत मात्रै भएको छ ।

 थामसेर्कु–कप्ताने १२ किमी सडकमा १५ प्रतिशत र कप्ताने–नुम सडकको १३ किमी सडकमा पनि १७ प्रतिशत मात्रै काम भएको छ । खाँदबारीबाट चीनको सीमावर्ती किमाथाङ्कासम्म सडकको लम्बाइ एक सय ६२ किलोमिटर छ । 

उत्तर–दक्षिण कोशी योजनाले ट्र्याक खुलेको एक सय ३९ किलोमिटरमध्ये ३९ किलोमिटर सडक कालोपत्र गर्न लागेको हो । कालोपत्र गर्ने काममा ढिलाइ हुनुमा निर्माण सामग्रीमा भएको मूल्य वृद्धि र वर्षाको बेला काम गर्न नसकेको बहाना बनाइएको छ ।

रु एक अर्ब २८ करोडमा कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले विभिन्न बहाना बनाएर काम नगर्दा स्थानीयवासीले सास्ती खेप्नु परिरहेको छ । कालोपत्र गर्ने भनिएको ३९ किलोमिटर सडकमा ठेकेदार कम्पनीले ठाउँठाउँमा ग्याबिन तारजाली लगाएर चौडा बनाउने र नाली निर्माणलगायतका सामान्य काम मात्रै गरेको छ । यो सडकखण्ड ठेकेदार कम्पनीले विसं २०८० पुस १३ सम्ममा सम्पन्न गरिसक्नुपर्ने छ तर कामको गति हेर्दा यो समयमा सम्पन्न गर्न कठिन देखिन्छ ।रासस

salt training

कमेन्ट गर्नुहोस्