दर्शकमाझ प्रतीक्षित मानिएको फिल्म ‘परदेशी २’ अब आगामी दशैँमा मात्र प्रदर्शनमा आउने भएको छ ।
गत दशैँ छाडेर फागुन ५ गतेलाई नयाँ प्रदर्शन मिति तोकेको फिल्म उक्त मितिमा पनि प्रदर्शनमा आएन ।
अब, फिल्म २०८० सालको दशैं (आगामी दशैं)मा प्रदर्शनमा ल्याउने मनस्थितिमा निर्माण टिम रहेको विश्वस्त स्रोतको भनाई छ ।
फिल्मको कथा र परिवेश दशैँसँग जोडिएकाले दशैँमै प्रदर्शन गर्ने सोचमा निर्माण टिम रहेको हो ।
आगामी दशैँमा प्रदर्शन गर्ने गरी फिल्मको केही दृश्यहरू खिचिएको बुझिएको छ ।
तीव्र तयारीका साथ फिल्म प्रदर्शनमा ल्याउने निर्माण टिमको खोँच छ ।
दशैँमा कुन मितिमा फिल्म प्रदर्शन हुन्छ त्यो चाहिँ तय भइसकेको छैन ।
७ वर्षअघिको सुपरहिट फिल्मको सिरिज भएकाले दर्शकको ठूलो जमातमा ‘परदेशी २’को पखाई व्यग्र छ ।
नारायण रायमाझी निर्देशित फिल्ममा प्रकाश सपूत र केकी अधिकारी मुख्य भूमिकामा छन् । गायकको रुपमा परिचित सपूतको नायकको रुपमा यो डेब्यू फिल्म हो ।
प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको पनि फिल्ममा अभिनय रहेको छ ।
नारायण इन्टरनेशनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले फिल्मको निर्माण गरेका हुन् ।
रमेश बिजीको कथा एवं पटकथा रहेको फिल्ममा बि.बि. अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनको छायांकन छ ।
फिल्मको टिजर र ‘के वर मागी’ बोलको गीतले दर्शकमाझ एक खालको चर्चा पाइसकेको छ ।