
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलाई ढिलो हुनबाट रोक्न सर्वोच्च अदालतमा ५ वर्षभन्दा बढी मुद्दा नराख्नेगरी काम शुरु गरेको बताएका छन्।
मंगलवार कानून व्यवसायी क्लब काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतमा ५ प्लस जिरो र उच्च र जिल्ला अदालतमा २ प्लस जिरोमा मुद्दाको फर्स्योट गरिसक्ने बताए ।
उनका अनुसार अबबाट सर्वोच्च अदालतले अदालतमा दर्ता भएका मुद्दाहरू ५ वर्षसम्ममा टुंग्याइसक्नुपर्ने र उच्च र जिल्ला अदालतले २ वर्षभित्र अदालतमा दर्ता भएका सबै मुद्दाको छिनोफानो गरिसक्नुपर्नेछ ।
यस कार्यमा सबै कानून व्यवसायीहरूले प्रतिबद्धता जनाइसकेको र अझै पनि कानून व्यवसायीहरूको साथ र समर्थन आवश्यक रहेको बताए ।
कामु प्रधानन्यायाधीश कार्कीले समयमै मुद्दा छिनोफानो गर्न बहस व्यवस्थापन, लिड लयर्सको कन्सेप्ट र मुद्दामा अतिआवश्यक एकदमै मानवीय कुराबाहेक अरू अवस्थामा मुद्दा हटाउँदैनौँ भनेर प्रतिबद्धता गर्न आवश्यक रहेको उल्लेख गरे।
उनले यी कुराहरू पालना गरेको खण्डमा आगामी असार मसान्तसम्ममा लक्ष्यमा पुग्ने दाबी गरे।
कार्कीले न्यायपालिकाले समयमा न्याय प्रदान गर्ने र न्याय औचित्यहीन ढंगले औचित्य नै समाप्त परिसक्ने अवस्था सिर्जना नगर्न सबै कानून व्यवसायीहरूसँग आह्वान गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरे।
उनले आफ्नो कार्यालयमा रहेका मुद्दाहरू लामो समय भइसकेका र औचित्यहीन बन्न लागेको भए सम्बन्धित अदालतमा जानकारी दिए औचित्य समाप्त हुन नदिन अदालतको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले मास्टर अफ द लको भूमिका निर्वाह गर्ने हो भने सबै कानून व्यवसायीहरूले संविधान र कानूनी शासनको प्रवर्द्धनका लागि पक्षधरको मात्र नभई विपक्षीलाई पनि न्याय हुनेगरी न्याय सम्पादन गर्न जरुरी रहेको बताए ।
कार्कीले न्यायालयको श्रीवृद्धि गराई निष्पक्ष न्याय सम्पादन गर्नेमा सबै कानून व्यवसायीहरूले दत्तचित्त भएर लाग्नुपर्ने बताए ।