
ठूलो रकम भित्र्याएको अभियोगमा पक्राउ परेका पृथ्वीबहादुर शाहले भारतको बेंग्लोरबाट ६३ करोड ९१ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।
आज केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पत्रकार गरेर शाहले ५६ अमेरिकी नागरिकको पैसा ठगी गरेको जनाएको हो ।
सीआईबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाका अनुसार उनले भारतको बेंगलोरबाट अमेरिकामा रहेका नागरिकहरूको कम्प्युटर र ल्यापटपको समस्या समाधान गरिदिने भन्दै बैंक खातामा अनधिकृत पहुँच पुर्याएर ठगी गरेको खुलेको हो ।
उनले ५६ जनाबाट ४५ लाख ४६ हजार ६३९ अमेरिकी डलर, ३ लाख ४० हजार क्यानडियन डलर र २२ हजार पाउण्ड स्टर्लिङ ठगी गरेका थिए । उनले ठगी गरेर नेपाल ल्याएको पैसामध्ये ३८ करोड ६८ लाख ६२ हजारबाट रुपैयाँको जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सुन खरिद, कम्पनी दर्ता र बीमाको प्रिमियम तिरेको देखिएको छ ।
बैंकमा रहेको उनको १५ लाख ६० हजार ५७७ डलर र अन्य वित्तीय संस्था र बैंकमा रहेका नेपाली १ करोड २८ लाख ९३ हजार रुपैयाँ होल्ड गरेर राखेको सीआईबीले जनाएको छ ।
उनीविरुद्ध २४ जना अमेरिकी नागरिकले दूतावासमार्फत सीआईबीमा उजुरी दिएका छन्।
उनी पक्राउ पर्नुभन्दा पहिलो १४ जनाले र हिजो (मंगलवार) थप १० जनाले उजुरी दिएका हुन ।
सीआईबीले उनको अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालय पठाइसकेको छ । प्रहरीले पीडितको पैसा फिर्ता पाउनुपर्ने दाबीसहित अनुसन्धान गरेको प्रतिवेदन पेस गरेको प्रवक्ता थापाले बताए ।