
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेमाथि चारैतर्फबाट घेराबन्दी भएको बताएका छन् ।
देशी–विदेशी शक्तिहरू मिलेर पार्टीलाई घेराबन्दीमा पारे पनि सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनले नै एमालेलाई परास्त पार्न सकिँदैन भन्ने कुरा स्पष्ट पारेको दाबी गरे ।
नेकपा एमाले नेताका कारण नभई जनता र कार्यकर्ताहरूको योगदानले निर्माण भएको दाबी गर्दै उनले विपक्षीहरूले जतिसुकै कमजोर बनाउन खोजे पनि थप सशक्त भएर जनतामा जाने उल्लेख गरे ।
एमालेले शुरू गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत बुधबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितका लागि एमाले जस्तोसुकै परिस्थितीको सामना गर्न तयार रहेको बताए ।
जनजीविकाका मुद्दाहरूलाई उठाउने र राष्ट्रिय स्वाधीनका लागि जस्तोसुकै घेराबन्दी भए पनि एमाले प्रतिवाद गर्न तयार रहेको उनले बताए ।
मिसन ग्रासरुटको माध्यमबाट आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी अभियानमा लाग्न आग्रह गर्दै भट्टराईले जनसंगठनहरूलाई समेत थप चुस्त दुरुस्त बनाउन आवश्यक रहेको औँल्याए ।
गत निर्वाचनको मत परिणामलगायत विषयलाई गम्भीर रुपमा समीक्षा गर्दै आवश्यक कुराहरूलाई सुधार गरेर अघि बढ्नुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै एमाले पोलिटव्युरो सदस्य बैजनाथ चौधरीले एमाले सिध्याउन लाग्ने शक्तिहरूका बीच आगामी निर्वाचनमा झन् ठूलो र पहिलो दल बन्ने गरी लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिए।