
नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।
८ दलीय गठबन्धनमा आबद्ध सो दलको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो ।
८ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति निर्वाचनमा मतदान गर्ने एक मात्रै निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भए पनि सरकारमा जाने विषय भने प्रवेश गराइएन ।
सरकारमा जाने विषयमा पार्टी सकारात्मक भए पनि समय आइनसकेकाले त्यस विषयमा छलफल नभएको प्रवक्ता खतिवडाको भनाइ थियो ।
उनले भने, ‘हाम्रो आठ दलका राष्ट्रपति पदका साझा उम्मेदवार रामचन्द्र पौडेलज्युलाई हाम्रो पार्टीले मतदान गर्ने निर्णय हामीले गर्यौं । सरकारमा जाने विषयमा सकारात्मक छौं । त्यसमा जाने बेलामा हामी छलफल गर्छौं । त्यस विषयमा आज प्रवेश नै गरिएन ।’
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । त्यसका लागि कांग्रेससहितका आठ दलको तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने एमालेबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन्।