
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठुला भनिने नेताहरूले गरिरहेको राष्ट्र दोहन र नीतिगत भ्रष्टाचारमा भएको भन्दै रोष प्रकट गरेका छन् । "पूर्व राष्ट्र प्रमुख र पूर्व प्रधानमन्त्रीहरू नै आर्थिक सहायताको नाममा नीतिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण हो," थापाले भने । आज काठमाडौँमा पार्टी आबद्ध जनवर्गीय सङ्गठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल व्यवस्थाले गर्दा गणतन्त्र कै विकल्प खोजी गर्दै जनता सडकमा आउन बाध्य हुने तर्क गरे ।
थापाले मुलुकको अवस्था अत्यन्त नाजुक भएको कारण देशको अवस्थाले गर्दा व्यवस्था परिवर्तन हुन सक्ने भन्दै गणतन्त्रका संवाहक हौँ भन्नेहरू नसच्चिए दुर्घटना अवश्यम्भावी भएको दाबी गरे । 'गरिब जनता सिटामोल खान सक्ने अवस्थामा छैनन्, ठुला नेताहरू ब्रम्हलुटमा लिप्त छन् ,' थापाले थपे 'यो दुर्घटनाको सङ्केत हो।' भ्रष्टाचार ,बेरोजगारी ,कुशासन,धर्म परिबर्तनले आक्रान्त जनता नाङ्गो ब्रम्हलुटबाट आजित भएको बताए । भ्रष्टाचार र सङ्घीयताको भारले मुलुक कङ्गाल भएको भन्दै थापाले देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका प्रभावहीन बन्दै जानू व्यवस्था नै असफल उन्मुख हुनु हो भन्ने टिप्पणी गरे । उनले नेता,कार्यकर्ताहरूलाई अब सडक सङ्घर्षको लागि तयारीमा लाग्न निर्देशन दिए । कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला लगायत जनबर्गीय सङ्गठनका अध्यक्षहरूले बोलेका थिए ।