
राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु भोट माग्न व्यस्त हुन थालेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सभामुख तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ दुवै उम्मेदवार भोट माग्न नेता तथा सांसदहरुसँगको छलफल र परामर्शलाई तिव्रता दिएका छन् ।
सोहीअनुसार आज राष्ट्रपतिका उम्मेदवार नेम्वाङले ११ बजे नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्दैछन् । त्यस्तै, दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग छलफल गर्ने कार्यक्रम तय भएको सो दलले जनाएको छ ।
यसैबीच नेम्वाङले आजै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग २ः३० बजे परामर्श गर्दैछन् । नेता नेम्वाङको साथमा एमाले नेताहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईको सहभागिता रहने बताइएको छ ।
यता आठ दलको तर्फबाट उम्मेदवार बनेका वरिष्ठ नेता पौडेल पनि आन्तरिक रुपमा नेता तथा सांसदसँग परामर्श गरिरहेका छन् । आठ दलीय गठबन्धनले आजै दिउँसो संघीय सांसदहरुसँग अभिमुखीकरण कार्यक्रम तय गरेको छ । सो कार्यक्रममा आठ दलका नेताहरुले सम्बोधन गर्नेछन् । राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ ।