
प्रभु क्यापिटल सामूहिक लगानी कोष अन्तर्गत दोस्रो योजना प्रभु स्मार्ट फण्डको फागुण १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड बराबरको ८ करोड इकाई जारी गर्न लागेको हो ।
योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड छ । ‘यो योजना एक बन्दमुखी योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशत सम्म शेयरमा लगानी गर्नेछ अर्थात यो एक इक्विटी ओरिएन्टेड योजना हो,’ प्रभु क्यापिटलले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ ।
निष्काशित कूल ८ करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले ८ लाख इकाई गरी कूल १ करोड २० लाख ईकाई सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाईका लागि सर्वसाधारणले फागुण १८ गतेबाट आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा इच्छुक लगानीकर्ताले छिटोमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा चैत्र ०३ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले जनाएको छ ।
‘नेपालको शेयर बजारमा धेरै सेक्टरका शेयरहरू सूचीकृत भई कारोबारमा छन् । त्यसमध्येका कम्पनीको व्यावसायिक वृद्धिदर उच्च रहेको, नियमित रूपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सबल भएको कम्पनीहरू छनोट गरी तीमध्ये उत्कृष्ट कम्पनीको शेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु स्मार्ट फण्ड राखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्तिको अंश –
प्रभु स्मार्ट फण्ड कस्तो योजना हो ?
प्रभु स्मार्ट फण्ड एउटा इक्विटी लक्षित बन्दमुखी सामूहिक लगानी योजना हो । प्रभु स्मार्ट फण्डको अवधि १० वर्षको छ । फण्डबाट संकलन भएको रकम इक्विटी र निश्चित प्रतिफल प्रदान गर्ने वित्तीय औजार अर्थात् फिक्स्ड इनकम इन्स्ट्रुमेन्टमा सन्तुलन गरी लगानी गर्ने योजना छ । फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करीब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ । यसका लागि हामीले बजारमा हुने उतारचढावलाई अवसरको रूपमा लिई सन्तुलन ढंगले लगानी गरी यस फण्डका युनिट होल्डरहरुलाई उच्चतम प्रतिफल दिने प्रयास गर्नेछौं । हामीले बजारमा रहेका उत्कृष्ट स्टकहरूलाई छनोट गरेर पोर्टफोलियो व्यवस्थित गर्छाैं ।
यो फण्डको उद्देश्य के हो ?
सर्वप्रथम त योजना अन्तर्गत छरिएर रहेका स–साना बचतहरूलाई संकलन गरी लगानीमा रूपान्तरण गर्ने कार्य यो योजनाले गर्नेछ । त्यसपछि योजनाको इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक सामूहिक लगानी कोष नियमावलीले तोकेको लगानीका क्षेत्रहरूमा लगानी गरी आवेदकलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दीगो विकासमा एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने ढंगबाट आफ्ना कार्यलाई अगाडि बढाउने छ ।
यो योजनाले कस्ता–कस्ता कम्पनीमा लगानी गर्छ ?

योजनाले नेपाल धितोपत्र बोर्डले जारी गरेको सामूहिक लगानी कोष नियमावलीले तोकेको निम्नानुसारका क्षेत्रहरूमा लगानी गर्नेछ ।
– बोर्डमा दर्ता भएको धितोपत्र
– सार्वजनिक निष्काशन भएको धितोपत्र
– धितोपत्र बिनिमय बजारमा सूचीकृत संगठित संस्थाहरूको धितोपत्र
– नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बंैकले जारी गरेको ऋणपत्र, टे«जरी बिल तथा मुद्रा बजारका अन्य साधनहरू
– बैंक तथा वित्तीय संस्थामा निक्षेप
– मुद्रा बजार उपकरण
– बोर्डले तोकिदिएको अन्य क्षेत्र आदि ।
तर यसरी लगानी गर्दा फण्डले न्यूनतम ३५ देखि ९० प्रतिशतसम्म धितोपत्र विनियम बजार अर्थात् नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूमा लगानी गरी पोर्टफोलियो व्यवस्थापन गर्नेछ ।
फण्ड व्यवस्थापन गर्न टीम कस्तो छ ?

प्रभु क्यापिटल अन्तर्गतको लगानी टीमभित्र नेपाली पुँजी बजारका साथै अन्तर्राष्ट्रिय पुँजी बजारमा काम गरिसकेका अनुभवी तथा यस क्षेत्रमा विज्ञता प्राप्त गरिसकेका विज्ञहरू सहितको व्यावसायिक टीम छ । यसमा एक जना सीए सीएफएए तथा एमबीए गरी भारतीय बजारमा करीब ८ वर्ष काम गरिसकेकादेखि १ जना सीए जो भारतीय पुँजी बजारका साथै नेपाली पुँजी बजारमा पनि करीब ७ वर्षयता संलग्न भई कार्य गर्दै आएका छन् । यो क्यापिटलको इन्भेस्टमेन्ट म्यानेजमेन्टको लागि कोर टीम हो । यसलाई सघाउने अरु साथीहरू हुनुहुन्छ । प्रभु क्यापिटलको उच्च व्यवस्थापनको नेतृत्व गर्नुहुने प्रबन्ध सञ्चालक दिनेश थकाली सीए हुनुका साथै नेपाली बैंकिङ क्षेत्रमा १ दशक बढीको अनुभव भएका व्यक्ति हुनुहुन्छ । प्रभु क्यापिटलले लगानी सम्बन्धी कार्यलाई व्यवस्थित गर्नको लागि अलग्गै लगानी कमिटी गठन गरेको छ, यसमा पनि नेपाली पुँजी बजारमै विशेष दखल भएका तथा पुँजी बजारकै क्षेत्रमा २ दशकभन्दा लामो अनुभव हासिल गरेका सफल व्यक्तित्वहरू हुनुहुन्छ । साथै प्रभु सामूहिक लगानी कोष अन्तर्गत नियुक्त भएका सुपरभाइजरहरू पनि व्यवस्थापन, प्रशासन, पँुजीबजार, लगानी विश्लेषण एवं अध्यापनको क्षेत्रमा लामो समय काम गरेको अनुभवी व्यक्तित्वहरू हुनुहुन्छ ।
प्रभु सेलेक्ट फण्डका आवद्ध कोष सुपरिवेक्षकहरू

प्रभु म्युचुअल फण्डले योजनाको सुपरिवेक्षणको निम्ती विविध फरक–फरक विधामा अनुभव प्राप्त ५ जना वरिष्ठ तथा प्रख्यात व्यक्तिहरूलाई कोष सुपरिवेक्षकका रूपमा नियुक्त गरेको छ । उहाँहरूको संक्षिप्त विवरण निम्नानुसार रहेको छ ः
क) श्री योगेन्द्र गौचनः पूर्व सहसचिव, नेपाल सरकार । नेपाल सरकारको विभिन्न विशिष्ट तहहरूमा कार्य गरेको अनुभव । हाल सुप्रिया लेखापरीक्षण फर्म सञ्चालन ।
ख) श्री सविन विक्रम पन्तः एशोसिएट प्रोफेसर, काठमाडौं विश्वविद्यालय । काठमाडौं विश्वविद्यालयमा १२ वर्षदेखि व्यवस्थापन संकाय अन्तर्गत प्राध्यापन तथा अनुसन्धानको क्षेत्रमा कार्यरत ।
ग) श्री अर्जुनलाल राजवंशीः पूर्व मुख्य व्यवस्थापक, नागरिक लगानी कोष । नागरिक लगानी कोषमा मुख्य व्यवस्थापकका साथै विशिष्ट तहमा लामो समय कार्य गरेको अनुभव ।
घ) सीए मदनकुमार निरौलाः चार्टड एकाउन्टेण्ट, मदन निरौला एण्ड कम्पनी । लेखापरीक्षणको क्षेत्रमा १८ वर्षको कार्य गरेको अनुभव । हाल मदन निरौला एण्ड कम्पनी सञ्चालन ।
ङ) डा. नारायण देसारः अध्यापन, अध्यापनका साथै पुँजी बजार र लगानीको क्षेत्रमा ११ वर्षदेखिको अनुभव ।
कम्पनीको छनोट गर्दा अवलम्बन हुने रणनीति कस्तो छ ?
फण्डले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबारका लागि उपलब्ध कम्पनीहरू मध्येबाट लगानी गर्नुपूर्व आधारभूत तथा प्राविधिक विश्लेषण गरी कम्पनीहरू वर्गीकरण गर्छ र यसरी वर्गीकरण गरेका कम्पनीहरू मध्येमा कम्पनीको व्यावसायिक वृद्धिदर उच्च रहेको, नियमित रूपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सबल भएको, संस्थागत सुशासन बलियो भएको तथा निश्चित समयअन्तरालमा बजार सूचकभन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्ने किसिमका शेयरहरू छनोट गरी त्यसलाई लगानी नीति अन्तर्गत रहने ग्रेडिङको पारामिटरमा राखी त्यसबाट पुनः छनोट गरिन्छ । यसरी छनोट गर्दा मुख्यतः भ्यालु र ग्रोथका आधारमा अब्बल देखिने कम्पनीहरू मध्येबाट उत्कृष्ट कम्पनीहरू छनोट गरिनेछ ।
प्रभु स्मार्ट फण्डमा नै किन लगानी गर्ने ?
बजारमा धेरै सामूहिक लगानी कोषहरू अहिले सञ्चालनमा छन् । ती सबै योजनाहरू आ–आफ्नै प्रकृतिका छन् । तिनीहरूको उद्देश्य पनि भिन्नाभिन्नै छ । प्रभु स्मार्ट फण्डको पनि प्रकृति अरुभन्दा भिन्न छ । साथै यसको उद्देश्य र यसले कार्य गर्ने संरचना पनि अन्य फण्डहरूको भन्दा भिन्न छ । अन्तर्राष्ट्रिय पुँजी बजारमा हेर्ने हो भने ग्रोथ र भ्यालु बेस्ड लगानी रणनीतिलाई उत्कृष्ट रणनीति मानिन्छ । तसर्थ पनि लगानीकर्ताहरूले आफ्नो लगानी वृद्धि तथा उत्कृष्ट प्रतिफल प्राप्तिका लागि यस्तो रणनीतियुक्त म्युचुअल फण्डहरूलाई बढी महत्त्व दिएको पाइन्छ ।
प्रभु स्मार्ट फण्ड अन्तर्गत कम्पनीहरूको छनोटको निम्ती योजना व्यवस्थापन टीम तथा सो अन्तर्गत विश्लेषण तथा अनुसन्धान टीमको व्यवस्था रहेको हुँदा कम्पनीहरूको अनुमानित प्रतिफल तथा एक्जिट सयमको मूल्यांकन नियमित रूपमा अनुसन्धान तथा विश्लेषण गरी सोहि अनुरूप कार्यान्वयन गरिने तथा क्यापिटलले व्यवस्था गरेको लगानी नीति अनुरूप भए/नभएको रेखदेख गर्न लगानी कमिटीको समेत व्यवस्था हुनुका साथै कोषको न्यूनतम मूल्य मान्यता तथा नीति अनुरूप खरिदबिक्री कार्य भए/नभएको अनुगमन तथा निरीक्षण गर्न कोष सुपरभाइजहरुको व्यवस्था भएको हुँदा लगानीकर्ताहरू आफ्नो लगानीप्रति ढुक्क बन्ने साथै बजारमा सानोतिनो उतारचढाव हँुंदा समेत फण्डको न्याभमा त्यस्तो ठूलो असर नपर्ने भएको हुँदा दीर्घकालीन रूपमा लगानी गर्ने लगानीकर्ताहरूका लागि लामो अवधिसम्म उच्च प्रतिफल प्रदान गर्ने स्रोत बन्न सक्छ ।
क्यापिटलका अनुसार प्रभु स्मार्ट फण्डले औसतमा वार्षिक २५.५० प्रतिशत प्रतिफल दिने लक्ष्य राखेको छ । प्रभु स्मार्ट फण्डले व्यावसायिक वृद्धिदर उच्च रहेको, नियमित रूपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सबल भएको, संस्थागत सुशासन बलियो भएको तथा निश्चित समयअन्तरालमा बजार सूचकभन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्ने किसिमका शेयरहरू छनोट गरी लगानी गर्ने भएकाले यस्ता भ्यालु तथा ग्रोथ ओरिएन्टेड कम्पनीहरूले लामो समयसम्म समान रूपमा उच्च प्रतिफल प्रदान गर्ने भएको हुँदा यस्ता कम्पनीका शेयरहरूको बजारमा नियमित कारोबार हुने तथा खरिदबिक्री समेत सहज ढंगबाट गर्न सकिन्छ ।

विभिन्न उमेर, लिङ्ग वा पेशाका लगानीकर्ताहरूको आफ्नो लगानीयोग्य रकमको स्रोतहरू तथा प्रतिफल प्राप्तिको दर एवं लगानी गर्ने उद्देश्य भिन्नभिन्न हुन सक्छ । कुनै लगानीकर्ताले एउटा निश्चित उद्देश्यले निश्चित समयका लागि केही रकम बचत गर्ने र यसरी बचत गरेको रकमलाई भविष्यमा कुनै निश्चित कार्यको लागि प्रयोग गर्न चाहेको हुनसक्छ । छोराछोरीको उच्च शिक्षा, विवाह वा तिनीहरूको उज्ज्वल भविष्यसँग सम्बन्धित योजनाहरूको सफल कार्यान्वयन हुनसक्छ वा कसैको लागि भविष्यमा आफ्नो अवकाश पश्चात सुखद भविष्यका लागि अवकाश कोष बनाउने हुनसक्छ वा कसैलाई आफ्नो भविष्यको लागि आवश्यक पर्ने जग्गा वा सुन वा गाडी जस्ता कुराहरूको खरिदका लागि फण्ड जम्मा गर्ने हुनसक्छ । यस्ता यावत उद्देश्यको पूर्तिका लागि आजबाटै रकम जम्मा गर्दै सो उद्देश्यअनुसार कार्यान्वयनका लागि आवश्यक रकम जुटाउने एउटा मुख्य स्रोत यस्ता नियमित रूपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने सामूहिक लगानी योजना हुनसक्छन् । त्यसमध्येकै एक विशिष्ट सामूहिक लगानी योजना हो प्रभु स्मार्ट फण्ड । तसर्थ यसमा विभिन्न उमेर, वर्ग वा लिंगका लगानीकर्ताहरू जसले समृद्ध भविष्यको सपना देख्नुभएको छ, उहाँहरूले प्रभु स्मार्ट फण्डमा लगानी गर्न सक्नुहुन्छ ।
आवेदन दिने प्रक्रिया –
१. नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सकिन्छ । यसका साथै यहाँहरूले सीडीएससीले प्रदान गरेको मेरो शेयरमा लगइन गरेर समेत आवेदन दिन सक्नुहुनेछ ।
२. मेरो शेयर प्रयोग गर्नु हुने लगानीकर्ताहरूले मेरो शेयरमा गई माई आस्बा मेनुभित्र क्लिक गरेर प्रभु स्मार्ट फण्डको बार्यातर्फ रहेको एप्लाई बटनमा क्लिक गरी खुलेको फाराममा आवश्यक विवरणहरू राखेर आवेदन दिन सक्नुहुनेछ ।