०१ असार २०८३, सोमबार

तरकारीको उत्पादनसँगै भाउ पनि घट्यो

फागुन १८, २०७९
तरकारीको उत्पादनसँगै भाउ पनि घट्यो
प्रतिकात्मक तस्वीर

मोरङको लेटाङ नगरपालिका–८ र ९ तरकारी उत्पादनका लागि उर्बर भूमि हो । यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन् ।

टमाटर र घ्यूसिमीमा आत्मनिर्भर हुँदै आएका किसान यो याममा भने चिन्तित छन् । अघिल्लो सालको तुलनामा यो साल उत्पादनमा कमी आउनका साथै र भाउ नपाइएकाले उनीहरू चिन्तित बनेका हुन् ।

अघिल्लो वर्ष प्रतिकिलो ६० रुपैयाँसम्ममा बिक्री भएको सिमीको यो साल भने २० रुपैयाँ पाउन पनि गाह्रो भएको स्थानीय कृषक डम्बरकुमारी कार्की बताउँछन् ।

उपयुक्त वातावरण, भिरालो जमिन खकुलो माटो भएका कारण यस क्षेत्रमा नगदेबाली लगाउनेको संख्या बढ्दो छ । सिँचाइको पर्याप्त सुविधा भएका कारण यस क्षेत्रका युवाले सामूहिक खेती गर्दै आएका हुन् । तरकारी खेतीबाटै मनग्य आम्दानी गर्दै आइएकोमा घ्यूसिमीले भाउ नपाएका कारण घाटा भएको उनीहरूको भनाइ छ । 

नगरपालिकाले टमाटर र सिमी खेतीलाई पहिलो प्राथमिकतामा राखेको छ । लेटाङमा रहेका ५ वटा कृषि सहकारी र १० वटा कृषक समूहले सामूहिक टमाटर खेती गर्दै आएका छन् । वार्षिक १०/१० करोड रुपैयाँ माथिको टमाटर र सिमी उत्पादन गर्ने लेटाङ नगरले यो वर्ष आधा पनि उत्पादन गर्न सकेको छैन ।

टमाटर र सिमी उत्पादन घटनाका साथै भारतीय तरकारी भित्रिएका कारण नेपाली कृषक मारमा परेको लेटाङ–८ स्थित उन्नत कृषि सहकारीका अध्यक्ष दाताराम घिमिरे बताउँछन् । 

समयमै बीउ मल र बजार नपाउँदा किसान चिन्तित बन्दै गएका छन् । त्यसमा पनि भारतीय सब्जीका कारण नेपाली सब्जीले बजार नपाएको कृषकको गुनासो छ । समयमै मल बीउ, आकाशे पानी उपलब्ध भए पनि बजार नपाइएको कृषक नगेन्द्र लिम्बू बताउँछन् ।

उत्तरी मोरङ लेटाङको सिमी नेपालका ठूला शहर काठमाडौं र पोखरामा माग बढी हुने गरेको छ । जाँतेमा करीब ५०० हेक्टर जमिनमा १ हजार ५०० हाराहारी कृषकले टमाटर खेती गर्दै आएका छन् । समूह र सामूहिक खेती गर्नेलाई नगरले अनुदान पनि दिँदै आएको लेटाङ कृषि शाखाका प्रमुख करण श्रेष्ठ बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्