प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेललाई ८ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय एकताको सन्देश प्रवाह भएको बताएका छन् । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।
राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले ८ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि बिहीवार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले गत पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले गत पुस २६ गते बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको धारणा राखे । उनले भने, ‘अघिल्लो पटक संविधानविपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौं । संसद् पुनःस्थापना गर्न सडकसम्म गयौं । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो तर बीचमा हामी अलिकति अल्मलियौं, अब ठीक ठाउँमा आएका छौं । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौं ।’
राष्ट्रपति पदका उम्मेदवार पौडेललाई ८ दलको मात्र होइन, १० दलको समर्थन रहेको बताउँदै उनले स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको स्पष्ट पारे ।
‘उहाँले निर्वाचन जितिसक्नुभएको छ । यो लोकतन्त्र र संविधानको हितमा छ,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा छ । हामी अहिले पनि राजनीतिक संकट र चुनौतीकै बीचमा छौं ।’