१० असार २०८३, बुधबार

पत्नीसँग अवैध सम्बन्ध रहेको आशंकामा १४ वर्षीय बालकको हत्या, पतिपत्नी दुवै पक्राउ

फागुन १८, २०७९
पत्नीसँग अवैध सम्बन्ध रहेको आशंकामा १४ वर्षीय बालकको हत्या, पतिपत्नी दुवै पक्राउ

मोरङको सुनवर्षी नगरपालिका–१ का १४ वर्षीय बालक विशाल माझीको हत्या गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३५ वर्षीय वीरेन्द्र पासवान र उनकी ३४ वर्षीया पत्नी डिल्ली पासवान छन् । पत्नी डिल्लीसँग विशालले अवैध सम्बन्ध राखेको भन्दै वीरेन्द्रले चक्कु प्रहार गरी १ हप्ताअघि हत्या गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ ।

फागुन ११ गते साँझ ८ बजे विशालको हत्या भएको प्रहरीले जनाएको छ । 

माझीको हत्या गरेर घरनजिकको पोखरीको डिलमा खाडल खनेर शव गाडेको अवस्थामा मोरङ प्रहरीले बुधवार भेट्टाएको थियो । हत्या गरेको ६ दिनपछि प्रहरीले शव फागुन १७ गते फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले बताए ।
 
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वीरेन्द्रकी पत्नी डिल्लीसँग अवैध सम्बन्ध रहेको आशंकामा विशालको हत्या गरिएको खुलेको छ । मृतक माझी र डिल्लीको घर नजिकै छ । वीरेन्द्र कल गाढ्ने र बनाउने काम गर्ने मिस्त्री हुन् ।

पत्नीसँग अवैध सम्बन्ध रहेको आशंकामा वीरेन्द्रले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

फागुन ११ साँझ वीरेन्द्रले घरमा बोलाएर घरबाट ५०० मिटर पर पोखरीको डिलमा लगेर चक्कु प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धान खटिएका प्रहरी अधिकृतहरू बताउँछन् । 

वीरेन्द्र र उनकी पत्नी डिल्लीले हत्या गरेको ३ दिनपछि मात्र विशाल हराएको सूचना प्रहरीकहाँ पुगेको थियो । छोरा हराएको भन्दै बुवा डिल्लीबहादुर माझी ईलाका प्रहरी कार्यालय रंगेलीमा पुगेका थिए ।

विशाल ८ कक्षामा अध्ययनरत विद्यार्थी हुन् । प्रहरीले पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि घटना स्वीकार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई रंगेली प्रहरीले बुधवार मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरेर अनुसन्धान शुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्