काठमाडौँ, ९ भदौ - नेपाल प्रहरीले संघीयतालाई मध्यनजर गर्दै थप १९ हजार ३६१ दरबन्दी माग गरेको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले हाल प्रहरी दरबन्दी ७३ हजार रहेको र मुलुक संघीय संरचनामा गएपछि यो दरबन्दीले नपुग्ने भएकाले आफुहरुले गृहमन्त्रालयमा थप थप १९ हजार ३६१ दरबन्दी माग गरेको जानकारी दिए ।
गृह मन्त्रालयबाट सो प्रस्ताव स्वीकृत भएर अर्थ मन्त्रालयबाट सहमति भएमा प्रहरीको दरबन्दी अब ९२ हजारभन्दा बढी हुनेछ । आज यहाँ अयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता कार्कीले संघीय प्रहरी ऐन नआउन्जेलसम्मका लागि संक्रमणकालीन व्यवस्थाअनुरुप प्रहरीको संरचना बनाइएको जानकारी दिए ।
हाललाई सातै प्रदेशमा अतिरिक्त प्रहरी महानिरीक्षकको नेतृत्वमा संघीय प्रहरी कार्यालयको संरचना बनाइएको र त्यो संरचनाले अहिले क्षेत्रीय प्रहरी कार्यालयले गर्ने काम गर्ने उहाँले जानकारी दिए । उनले भने , “सात प्रदेशमध्ये पाँचवटा प्रदेशमा हाल क्षेत्रीय प्रहरी कार्यालय रहेका कार्यालयबाटै काम हुनेछ, २ र ५ नं प्रदेशमा भने कुन ठाउँमा प्रदेश कार्यालय राख्ने छलफल भइरहेको छ ।”
यस्तै हाल रहेका अञ्चल प्रहरी कार्यालयहरुले संघीय प्रहरी इकाई कार्यालयको रुपमा काम गर्नेछन् ।
कार्यक्रममा प्रवक्ता कार्कीले प्रहरीको गतिविधिबारे प्रस्तुतीकरण गर्दै शान्ति सुरक्षा, अपराध अनुसन्धान, प्रहरीको आधुनिकीकरण तथा संस्थागत सुधारका प्रयास र संघीयतामा प्रहरी संरचना तथा जिम्मेवारीबारे जानकारी दिए ।