काठमाडौँ, १० भदौ- कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा शुक्रबार तीन कोइराला (शशांक, शेखर र सुजाता) एउटै मञ्चमा देखिए । यो एउटा तत्कालिन संयोग मात्रै थिएन । पाँच साताअघि पारिवारिक रुपमा महामन्त्री शशांकको टोखास्थित निवासमा ‘लन्च मिटिङ’ गरेका तीन कोइरालाले औपचारिक रुपमै एक भएको सन्देश सार्वजनिक गर्न त्यस्तो अवसर खोज्दै थिए, जुन अवसर पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्ने बहानामा मिल्यो, कान्तिपुरमा खबर छ ।

निमन्त्रणा गर्दा नै पत्रकारसंग तीन कोइरालाको कुराकानी भनेर बोलाइएको थियो र कार्यक्रमलाई पनि त्यहि हैसियतमा औपचारिकता दिइयो । तीन कोइरालालाई एकै ठाउँमा राख्न घरमै मञ्च खडा गरियो । जसमा शशांक, शेखर र सुजाता क्रमश बसे । बायाँपट्टी पत्रकार महासंघका नवनिर्वाचित सभापति गोविन्द आचार्य र कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महत थिए । पत्रकार भेटघाटको कार्यक्रम भनिए पनि पार्टीका नेता र मन्त्रीहरुको पनि उपस्थिती थियो ।
१३ औं महाधिवेशनसम्म पार्टीको नेतृत्वमा पुग्न यिनै तीन कोइरालाबीच भित्रभित्र चर्कै टकराब थियो । तीनै जना महामन्त्रीका दावेदार थिए । प्रतिस्पर्धाको टकराबबीच मिल्दै आए पनि हार्दिकता थिएन । भेटघाट र कुराकानी पारिवारिक जमघटमा सिमित थियो । राजनीतिक कुराकानी हुन्थेन । ‘अहिले तीन कोइरालाबीच हार्दिकतामात्रै छैन, राजनीतिक कुराकानी बढी, बरु पारिवारिक कुराकानी कम हुन थालेको छ’ शशांक निकट रहेका एक नेता भन्छन,‘तीन जनाबीच आगामी महाधिवेशनसम्म कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल हुन थालेको छ ।’
लामो समयपछि कांग्रेस नेतृत्व कोइराला परिवारबाट बाहिर पुगेको छ, अर्थात १३ औं महाधिवेशनबाट नेता शेरबहादुर देउवाले पार्टीको बागडोर सम्हाल्दै आएका छन् । पहिलो त गैर कोइराला नेतृत्वमा पार्टी नेतृत्व पुग्दा कोइराला परिवार चिन्तित छ । दोस्रो देउवाको काम गर्ने शैलीप्रति उनीहरुको असन्तुष्टी बढदो छ । खासगरी शेखर कोइराला देउवाको कार्यशैलीलाई लिएर सार्वजनिक रुपमै असन्तुष्टी जनाउँदै आएका छन् ।
तीन कोइरालाको यो एकताले एकैचोटी सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई समेत झस्काएको छ । तीन कोइराला मिलेरै अघि बढेमा पार्टीको १४ औं महाधिवेशनमा त्यसको प्रत्यक्ष असर पर्ने अहिलेका शीर्ष नेतृत्वले आंकलन गरेका छन् ।