
पर्वत जिल्लाको कुश्मा नगरपालिका १० नम्बर वडाले मृतकका परिवारसँग वडा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
वडाभित्र रहेका विपन्न परिवारमा कुनै सदस्यको मृत्यु भएमा उनका परिवारलाई रकम अभावका कारण काजकिरीया गर्न अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडाको भनाइ छ ।
‘सरकारी सेवामा रहेका र आर्थिकरूपमा सम्पन्न परिवारलाई बाहेक वडामा मृत्यु भएका प्रत्येक मृतकका परिवारलाई जनही १० हजार दिने गरेका छौं,’ वडाध्यक्ष रामचन्द्र सुवेदीले भने, ‘यस आर्थिक वर्षदेखि शुरू गरेका हौं र यसलाई आगामी दिनमा निरन्तरता दिइने छ । मृतकका परिवारलाई काजक्रिया खर्च भनेर रकम भुक्तानी दिने गरेका छौं ।’
पर्वतमा मृतक परिवारसँग वडाको नौलो कार्यक्रम भएको स्थानीय राजु पौडेलले बताए । उनले वडाको यस कार्यक्रमले विपन्न परिवारलाई राहत मिलेको प्रतिक्रिया दिए । सामान्य काजक्रियाकै लागि पनि विपन्न परिवारले त ऋण धन गर्नुपर्ने अवस्था रहँदै आएकामा वडाको यस कार्यक्रमले थोरै भए पनि राहत दिएको उनको भनाइ छ ।
वडाध्यक्ष सुवेदीले भने, ‘यो रकम धेरै होइन सामान्य हो, तर पनि जनताका प्रतिनिधि आफ्ना नागरिकलाई दुःख परेका बेला सान्त्वना र समवेदना लिई घरघरमै भेट्न जाने एउटा माध्यम मात्र हो ।’
मृतकको परिवारले रकम प्राप्त गर्न वडा कार्यालयमा मृत्यु दर्ता गर्नुपर्ने हुन्छ । त्यसपछि वडाध्यक्ष सो रकम लिएर मृतकको घरमा पुग्ने गर्दछन् । यस वडामा जम्मा घरधुरी ६२३ र जनसंख्या ४ हजार ५३४ छ ।