
केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेशन अलपत्र परेको छ । तीन वर्षमा सम्पन्न गर्नेगरी विसं २०७३ भदौमा भारतीय निर्माण व्यवसायी कम्पनी एटुजेड इन्फ्रा इञ्जनीयरिङ लिमिटेडले सम्झौता गरेको सबस्टेशन हालसम्म पूरा भएको छैन ।
कम्पनीले बुइपा–बाक्सिला ३३ केभी र ११ केभी प्रशारणलाइनको काम पूरा गरे पनि ट्रान्सफर्मर थप गर्ने र सबस्टेशन निर्माणको काम अलपत्र पारेर सम्पर्कविहीन भएको स्थानीय बासिन्दा एवं नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका सहसचिव माइतीराज राईले बताए। सम्झौता अनुसार विसं २०७६ मै बनिसक्नुपर्ने सबस्टेशनको क्वाटर र कन्ट्रोल विल्डिङको काम अहिलेसम्म पनि अधुरै छ ।
निर्माणस्थलमा सबस्टेशनको विद्युतीय उपकरण ल्याइए पनि जथाभावी खुला चौरमा थुपारिएका कारण कतिपय उपकरण टुटफुट र काम नलाग्ने अवस्थामा पुगेको स्थानीय बासिन्दाको भनाइ छ ।