०९ साउन २०८३, शनिबार

पहिचानको मुद्दा छाडेका छैनौं : मन्त्री मोदी

फागुन २१, २०७९
पहिचानको मुद्दा छाडेका छैनौं : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पहिचानको मुद्दा आफूहरुले नछाडेका कारण संघर्ष जारी रहने बताएका छन् । झापाको कन्काई नगरपालिका ९ मा राजवंशी समाज विकास समितिद्वारा शनिबार आयोजित राजवंशी धर्म संस्कार प्रथम राष्ट्रिय सम्मेलनमा उनले त्यस्तो बताएका हुन् ।  

मन्त्री मोदीले आफूसम्बद्ध पार्टी माओवादी केन्द्रले नै पहिचानको मुद्दा उठाएको दावी गर्दै प्राप्त हुन बाँकी उपलब्धिका लागि संघर्ष जारी रहने बताए । मन्त्री मोदीले भने, “कुनै न कुनै बेला संघर्षको प्रतिफल प्राप्त हुन्छ, ढिला हुन सक्ला तर पहिचानको आन्दोलनले अवश्य प्रतिफल प्राप्त गर्छ ।”

मन्त्री मोदीले प्रदेश १ को नाम कोसी राखिसके पनि पहिचानसहितको नामका लागि संघर्ष जारी रहने बताए । उनले भने, “संघर्षको अध्याय सकिएको छैन, पहिचानसहितको नामकरणको लागि हाम्रो संघर्ष झन् कठोर भएर अगाडि बढ्छ ।”

मन्त्री मोदीले माओवादी आन्दोलनले नै पहिचानको आन्दोलन जन्माएको बताउँदै भने, “पहिचानकै लागि माओवादीले १० वर्षे जनयुद्ध गरेको हो, हजारौँ शहीदले बलिदानी गरेका हुन्, लाखौँ घाइते अपाङ्ग र टुहुरा भएका हुन् । त्यसैले अधिकार प्राप्ति नभएसम्म पहिचानको आन्दोलन जारी रहन्छ ।”

त्यस्तै, झापाको बिर्तामोडमा कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालले शहीद सप्ताहको अवसरमा आयोजना गरेको शहीद सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले पहिचानको आन्दोलनको स्वरुपलाई थप परिस्कृत गर्दै संघर्षमा जानुपर्ने बताए । 

उत्पीडित जाति र समुदायले आफ्नो संस्कार, संस्कृति र भाषाको जगेर्नामा विशेष ध्यान दिनुपर्ने मन्त्री मोदीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्