नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन हुन गइरहेको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९’ आज आइतबारदेखि शुरु हुँदैछ । सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा फागुन २१ देखि चैत १ गतेसम्म गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा महोत्सव आयोजना हुन लागेको हो । महोत्सवबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले गण्डकी प्रदेशको आर्थिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताए ।
गण्डकी प्रदेश सरकारले घोषणा गरेको औद्योगिक ग्राम एवं धौवादी फलाम खानी निर्माणका लागि सन्देश प्रवाह हुने कोइरालाको भनाइ छ । मेलामार्फत नवलपुरका सबै पर्यटकीय क्षेत्रको प्रवर्धन तथा सम्भावनाको खोजी गर्दै त्रिवेणीधामदेखि पोखरा हुँदै मुक्तिनाथसम्मको पर्यटकीय करिडरको प्रचार गर्ने कोइरालाले बताए ।
गण्डकीको कान्छो जिल्ला नवलपुर जिल्लाले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य रहेका कारण व्यवसाय प्रवर्धनका लागि नवलपुर छनौट गरिएको उनको भनाइ छ । गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवर्धन तथा बजारीकरणमा समेत सघाउ पुग्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।
‘आर्थिक विकासको मूल आधार ः कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने मूलनाराका साथ शुरु हुन लागेको महोत्सव अवधिभर नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा २० वा २० जनाभन्दा बढीको संख्यामा नवलपुरको देवचुली–१७ मा रहेको पिप्रहर सामुदायिक होमस्टेमा आउने व्यवसायिक संघ संस्था, आमा समूह, महिला उद्यमी टोल विकास संस्थालाई १० हजार रुपैयाँ यातायात खर्चसहित होमस्टेमा सहुलियतपूर्ण बासको व्यवस्था गरिएको कोइरालाले जानकारी दिए ।
समूहमा आउने पर्यटकबाट आवाससहित प्रतिव्यक्ति सादा खाना रु. ७०० तथा मांशाहारी खाना रु. ७५० सहितको प्याकेजको व्यवस्था गरिएको कोइरालाको भनाइ छ । मेलाको थप आकर्षणतर्फ ख्यातिप्राप्त राष्ट्रिय कलाकारबाट सांस्कृतिक कार्यक्रम र बालउद्यान पनि समावेश गरिएको छ । महोत्सवको आज दिउँसो संघीय सांसद डा. शशांक कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सव शुरु हुनुपूर्व गैँडाकोटस्थित भृकुटी चोकबाट झाँकीसहितको शोभायात्रा गरिनेछ ।
महोत्सवको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले महोत्सवमा ३०० वटा स्टल रहने जानकारी दिए । महोत्सवको सुरक्षाका लागि सीसी क्यामेराबाट निगरानीका साथै सबै स्टलहरुको बीमा गरिएको भट्टचनले जानकारी दिए । करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सवको एक लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारलाई रु ८० तथा विद्यार्थीलाई रु ५० को टिकटको व्यवस्था गरिएको भट्टचनले बताए ।