२९ जेठ २०८३, शुक्रबार

उदयपुरमा चैते धानखेती घट्दै

फागुन २२, २०७९
उदयपुरमा चैते धानखेती घट्दै
प्रतिकात्मक तस्वीर

उदयपुरको पूर्वी मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा फागुन महिनाको पहिलो हप्तामा लगाइने चैते धानखेतीमा यसपटक खडेरीले कमी आउने भएको छ ।

हिउँदमा एकपटक पनि वर्षा नभएका कारण चैते धान खेतीमा कमी आएको हो । रौतामाई गाउँपालिकाको भुटार, पोखरी, आपटार, मुर्कुची, पुवाँरे क्षेत्रका खोलानालामा पानी सुकेकाले चैते धान रोपाइँमा प्रभाव परेको मुर्कुचीका कृषक दिलबहादुर रिखाम मगर बताउँछन् ।
             
कटारी नगरपालिकाको रिस्कु, सोमबारे तथा मरुवा क्षेत्रमा पनि चैते धानखेती घटेको कटारी रिस्कुका दमन दनुवारले बताए । रिस्कु क्षेत्रका साना खोला नालामा खडेरीले पानीको स्रोत नै सुक्दै जान थालेकाले धान रोप्ने काम नै गर्न नसकेको दनुवारले बताए ।

उदयपुरगढी गाउँपालिकाको दनुवार बेंसी, बर्रे, भलायाडाँडा कालीखोला क्षेत्रमा भने मुस्किलले यसपटक चैते धानखेती गरेको बर्रेका हीराबहादुर अधिकारीले बताए ।
         
लिम्चुङबुङ गाउँपालिकाको जाँते, बासबोटे, ताम्लीछा र छताङ क्षेत्रका खेतमा पनि सिमसार क्षेत्र र खोलाका पानी सुक्दै जान थालेपछि थोरै कृषकले मात्र चैते धानखेती गरेको जाँतेका बृध्वज बुढाथोकीले बताए ।
    
जिल्लाको त्रियुगा नगरपालिकाको साउने, खाँबु र चिलाउने क्षेत्रमा पनि गत वर्षजस्तो अधिकांश खेतमा चैते धानखेती गर्न नसकिएको खाँबुका कृषक देवराज तिमसिना बताउँछन् । कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार उदयपुर जिल्लामा बर्सेनि १ हजार ५०० हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुँदै आएको छ । खडेरीले पानीको स्रोत घट्दा चैते धानखेती गर्न समस्या भएको हुनसक्ने कृषि ज्ञान केन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले बताए ।

ज्ञान केन्द्रका अनुसार २०६० सालभन्दा पहिला उदयपुरमा २ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुन्थ्यो । गाउँघरका युवाहरूले गाउँ छाड्ने, विदेश पलायन हुने, गाउँमा जनशक्ति अभाव तथा खडेरीले विगतको तुलनामा धानखेती कम हुँदै गएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्