२७ असार २०८३, शनिबार

लेकसाइडमा होलीको रंगमा रमाए पर्यटक

फागुन २२, २०७९
लेकसाइडमा होलीको रंगमा रमाए पर्यटक

नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि लेकसाइड पर्यटकको केन्द्र । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रंगमा रमाएका छन् । 

होली नेपाली परम्पराको रंगको पर्व । एकआपसमा रंग खेलेर यो पर्व मनाउने गरिन्छ । विभिन्न रंगमा रंगिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि । विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रंगमा रमाए । निकै खुशी हुँदै विभिन्न रंग लगाउँदै होली खेले । 

रेस्टुरेन्ट एण्ड बार एशोसिएशन रेवान पोखराले फागु पूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रमा विभिन्न देशका ५०० बढी पर्यटकले एकअर्कामा होली रंग लगाएर रमाएका थिए ।  

होलीको रंगसँगै रमाइरहेका जर्मन नागरिक मरियसले यो विशेष दिनले निकै खुशी दिएको बताए । ‘निकै खुशी लागेको छ, पोखरामा आएर रंगसँग रमाउन पाउँदा, आनन्द पनि लागेको छ, सबै जनालाई खुशी देखेको छु,’ उनले भने । 

‘यहाँ कसैले को कहाँबाट आएको र को कुन धर्म मान्ने भनेर कसैले सोधेनन्, सबैले सबैलाई सम्मानपूर्वक रंग लगाइदिए, मलाई यो समानता निकै मनपर्‍यो,’ उनले विभेदरहित पर्वको पनि संज्ञा दिए । उनीसँग रहेका अर्का जर्मन नागरिक डेनियलले पनि रंगसँग खेल्दा तनावको अनुभूति नभएको, बडो रमाइलो अनुभूति भएको प्रतिक्रिया दिए ।

अन्नपूर्ण बेसक्याम्पमा जान आएका डेनियलले आजको दिनले ऊर्जा थपेको र खुशी बढेको अनुभव सुनाए । आफूलाई निलो रंग एकदम मनपर्ने भन्दै उनी सोही रंगसँग निकै रमाए । आफूले पनि रंग दले र अरुलाई पनि लगाइदिए ।

त्यसैगरी ३ हप्ताअघि बेल्जियमबाट नेपाल आएकी लिसाले पनि रंगसँग रमाएको आजको दिन जीवनमा यादगार हुने बताइन् । लमजुङको बेसीशहरको एक स्कूलमा स्वयंसेवीका रूपमा काम गर्दै आएकी उनले पोखरा घुम्न आउँदा रंगसँग रमाउन अवसर मिलेको बताइन् । ‘म खुशी छु, जीवनको पहिलो अनुभव हो, रंगसँग रमाएको यो अवसरका लागि सबैलाई धन्यवाद,’ लिसाले भनिन् ।

इलामको चियाबारे अध्ययनका लागि नेपाल आएकी होल्यान्डकी एल्काले पनि रंगीविरंगी रंगमा रमाउँदा निकै आनन्द र खुशी लागेको प्रतिक्रिया दिइन् । उनले हरेक देश र नागरिकको आआफ्नो संस्कार र संस्कृति हुने र एकअर्काले त्यसको सम्मान गर्न सके खुशी मिल्ने बताइन् ।

उनले रेवानले आयोजना गरेको कार्यक्रमले विभिन्न देशका नागरिक एकै ठाउँमा हुने अवसर समेत प्रदान गरेकोमा खुशी व्यक्त गरिन् । रेवान पोखराका कार्यबाहक अध्यक्ष विश्वराज पौडेलले रेवानले हरेक वर्ष फागु पूर्णिमा होली विशेष महोत्सव गर्दै आएको र यस वर्ष पनि विदेशी पर्यटकको उल्लासमय उपस्थितिका कार्यक्रम गरेको बताए ।
    
‘कोरोना महामारीपछि यो वर्ष पर्यटकको उल्लासमय उपस्थिति रह्यो, विदेशी पर्यटक एकअर्कालाई रंग दलेर आत्मियता र माया साटिरहेको हामीले पायौं । यो हाम्रो संस्कृतिप्रतिको सम्मान हो,’ पौडेलले भने । हरेक संस्कार संस्कृतिको आआफ्नै महत्त्व हुने र त्यसको महत्त्व उजागार गर्नसके पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने उनको भनाइ थियो । 

उनले पर्यटन प्रवद्र्धनका लागि रेवानले सांस्कृतिक र धार्मिक, सामाजिक पक्षलाई समेत ध्यान दिएर विभिन्न कार्यक्रम गर्दै आइरहेको र त्यसमा विशेष गरी विदेशी पर्यटकलाई लक्षित कार्यक्रममा जोड दिएको बताए ।  
    
महोत्सव पोखराको लेकसाइडको अम्बोटबाट हल्लनचोकसम्म पञ्चेबाजासहित पर्यटन व्यवसायी, आन्तरिक तथा बाह्य पर्यटक विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा र्‍याली निकालिएको थियो । रेवानका महासचिव विकास भट्टराईले होलीका क्रममा हाम्रो देशको संस्कृति जानकारी दिन सकियोस् भनेर पञ्जेबाजाका साथै अन्य नाचगान पनि गरिएको उनले बताए । – जमुना वर्षा शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्